वीरेन्द्र भट्ट, धनगढीः शुक्रवार कञ्चनपुरको महेन्द्रनगरबाट साढे १५ किलो लागुऔषध चरेशसहित प्रहरीले बझाङको केदारस्युँ गाउँपालिका–७ का ४० वर्षीय करन धामीलाई पक्राउ ग¥यो। शुक्रबार नै धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका ३२ वर्षीय रोहित भट्टलाई ४४० मिलिग्राम अवैध लागुऔषधसहित कैलाली प्रहरीले पनि पक्राउ ग¥यो। यी दुई घटनाको विषयमा कञ्चनपुर र कैलाली प्रहरीले अनुसन्धान गरिरहेको छ।
त्यस्तै डडेल्धुराको अमरगढी नगरपालिका–९ का ३० वर्षीय राजेश पाल ५५० मिलिग्राम लागुऔषधसहित गोदावरी (अत्तरिया)बाट आज पक्राउ परेका छन्। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पु¥याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायत कारणले कैलाली र कञ्चनपुर लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ।
प्रहरीले केही समयको फरकमा लागुुऔषधसहित मानिसहरू समात्न थालेको लामो समय भइसकेको छ। तर कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन्झन् बढ्दो छ। गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। विभिन्न किसिमको ट्याब्लेट र इन्जेक्सनदेखि गाँजा, चरेस र हेरोइनसम्मको प्रयोग यो प्रदेशमा हुने गरेको प्रहरीको भनाइ छ। यी लागुऔषधको कारोबार तथा प्रयोग हुन नदिन प्रहरीले आफ्नोस्तरबाट प्रयास गरिरहेको बताउँछ।
पक्राउ पर्नेमा १५ देखि ३५ वर्ष उमेर समूहकाको संख्या बढी छ। पक्राउ परेकाहरूको तथ्यांक केलाउँदा लागुऔषध कारोबारी र प्रयोगकर्ता १६ देखि ३५ वर्ष उमेर समूहका युवा धेरै छन्। यस प्रदेशमा बढ्दो लागुऔषध कारोबारीको सञ्जाल भत्काउन शून्य सहनशीलता अपनाएर कारबाही तीव्र पारिनुको विकल्प छैन्। तर, कैलालीमा प्रहरीको सक्रियताकै कारण पक्राउ पर्नेको संख्यामा वृद्धि भएको प्रहरी निरिक्षक एवं सह–प्रवक्ता सरस्वती अधिकारी बताउँछिन्।
कैलाली र कञ्चनपुरमा मात्र लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा संलग्न औषतमा दैनिक चार जना यसैगरी पक्राउ पर्ने गरेका छन्। मानव स्वास्थ्यका लागि खतरनाक मानिएको लागुऔषधको सेवन, ओसारपसार र विक्रीवितरण सबैभन्दा बढि कैलालीमा हुने गरेको छ। औषतमा दैनिक दुई जना जिल्लाका विभिन्न स्थानबाट पक्राउ पर्ने गरेका छन्।
कैलाली र कञ्चनपुरका कारागार लागूऔषध सेवनकर्ताले भरिन थालेका छन्। कैलाली र कञ्चनपुरका कारागारमा मात्र २ सय ७१ जना लागूऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी छन्। कञ्चनपुर कारागारमा रहेका ४ सय ३५ कैदीबन्दीमध्ये १ सय १८ जना लागुऔषधसम्बन्धि मुद्दाका छन्। त्यस्तै कैलाली कारागारमा ६ सय २५ कैदीबन्दीमध्ये १ सय ५३ जना लागूऔषधसम्बन्धी मुद्दाका छन्। यसबाहेक जिल्ला प्रहरी, इलाका प्रहरी र प्रहरी चौकीमा गरेर एक सय ५० को संख्यामा थुनुवा छन्।
सुदूरका पहाडी जिल्लाका कारागारमा समेत लागूऔषध मुद्दाका कैदीबन्दी बढ्दै गएको देखिएको छ। अधिकांश कैदीबन्दी १८ देखि ४० वर्ष उमेर समूहका युवा बढी छन्। अहिलेकै अवस्थामा लागूऔषध मुद्दाका कैदीबन्दी थप हुँदै जाने हो भने कारागारमा गम्भीर समस्या हुने सरोकारवाला बताउँछन्।
लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा संलग्नहरुको निगरानी बढाउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी बढाउने काम सुरु गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमिक्त प्रहरी प्रवक्ता भरत चौधरी बताउँछन्। ‘कैलाली कञ्चनपुरमा लागुऔषध ठुलो समस्याको रुपमा देखा परेको छ। यसको रोकथामका लागि प्रहरी सक्रिय भएर निगरानी बढाइरहेको छ।’
लागूऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढेपछि पछिल्ला ६ महिनामा कैदीबन्दीका रूपमा कारागार चलान हुने संख्या दोब्बरले बढ्न थालेको प्रहरी दाबी छ। दुई वर्षअघि र अहिलेको तथ्यांकमा तुलना गर्दा दोब्बरभन्दा बढीले लागूऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी कारागार चलान भएका छन्। प्रहरीले लागूऔषध सेवनकर्ता र बिक्रीवितरणमा संलग्नलाई पक्राउ गरिरहेको भए पनि नियन्त्रण भने हुन सकेको छैन्। सुदूरपश्चिम प्रहरी अहिले पनि बिक्रीवितरणमा संलग्न ठूला गिरोहसम्म पुग्नै सकेको छैन्। पक्राउ पर्ने जति सेवनकर्ता बढी छन्।