Advertisement
SKIP THIS
काभ्रे बस दुर्घटना एकै परिवारका ८ क‍ो मृत्यु, शव बुझ्ने आफन्त भएनन्

काभ्रे:हिजो (मंगलबार) साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ। 

प्रहरीले सनाखत गरी ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा धुलिखेल अस्पतालमै छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाकै पोस्टमार्टम भैसकेको र तीमध्ये नाैजनाको शव परिवारले बुझेर धार्मिक रीतिरिवाजअनुसार दाहसंस्कारका लागि लगेका छन्।

बाँकी ८ वटा शव बुझ्ने आफन्त नहुँदा धुलिखेल अस्पतालमै रहेको न्यौपानेले बताएका छन्। उनीहरूको परिवारमा दुईजना घाइते अवस्थामा रहेका छन् भने एकजना विदेशमा रहेका छन्। ‘आठवटा शव परिवारले बुझ्न बाँकी छ, अन्य नाै शवहरूलाई परिवारको जिम्मा लगाएका छौँ।’

प्रहरी उपरीक्षक न्यौपानेले भने, ‘सानो नानी र परिवारको कान्छो छोराको उपचार भइरहेको छ । एकजना जापानमा छन् भन्ने सुनेको छु, भोलि बेलुकीसम्ममा आएर शव बुझ्ने कुरा छ।’

एकै परिवारका आठ शव

उक्त बस दुर्घटनामा परी एकै परिवारका ८ जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका वडा नं. ११ का ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीय कोपिला तामाङ र ११ वर्षीय पुष्कर तामाङ छन्। उनीहरू सबै एकै परिवारका हुन्।

मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने मृतक बुद्ध तामाङ र कोपिला तामाङकी आठ वर्षीय छोरी श्रेया तामाङको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेकाे छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारीसमेत रहेका न्यौपानेले दिएको जानकारीअनुसार २२ जना घाइतेमध्ये २ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने बनेपास्थित शिर मेमोरियल अस्पतालमा आठजना, धुलिखेल अस्पतालमा नौजना र बाँकी तीनजना काठमाडौंको बिएनबी र भक्तपुरमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया