Advertisement
SKIP THIS
सुदूरपश्चिमको मुख्यमन्त्रीमा महामन्त्री खड्काको चर्चा

अछाम :सुदूरपश्चिममा अबको मुख्यमन्त्रीका रूपमा नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काको चर्चा सुरु भएको छ । अछाम क्षेत्र नम्बर १ को प्रदेश क बाट विजयी भएका खड्कालाई यसअघि नै मुख्यमन्त्रीको बलियो दाबेदारका रुपमा हेरिएको थियो ।

४ दशक देखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेका खड्काले एमालेका उम्मेदवार देब बहादुर कुवँरलाई झण्डै दोब्बर ५ हजार ८ सय ४० को मतान्तरले पराजित गरेका छन् । खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेका थिए भने एमालेका देब बहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका थिए ।

नेता कार्यकर्ता माझमा लोकप्रिय खड्का प्रधानमन्त्री शेर बहादुर देउवाका निकै बिश्वास पात्र हुन । देउवाका स्वकिय सचिव भएर समेत काम गरेका खड्का यसपटक सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित सदस्यहरु मध्येमा सबैभन्दा सिनियर र प्रदेशका महामन्त्री समेत हुन् ।

नेपाली कांग्रेस अछामको पार्टी सभापति भईसकेका खड्का हाल कांग्रेस सुदूरपश्चिमको प्रदेश महामन्त्री हुन् । सुदूरपश्चिमको विकास, समृद्धि र रोजगारीका अवसर सृजना गर्न खड्का मुख्य मन्त्री हुनुपर्ने माग नेता कार्यकर्तामा उठ्दै आएको छ । इमान्दारिताको अर्को नाम मेघराज भएको नेता कार्यकर्ताहरु बताउछन ।

सबैको साझा भावनाको प्रतिनिधित्व गर्ने र सबै दललाई मिलाएर लैजान सक्ने क्षमता भएका खड्कालाई मुख्यमन्त्रीका रूपमा हेरिएको छ । तर यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफ्नो धारणा भने सार्वजनिक गरिसकेका छैनन् । प्रदेश सरकारलाई सङ्घीय सरकारसँग जोड्न सक्ने कडिका रूपमा खड्कालाई हेरिएको छ ।

प्रदेश सभामा प्रत्यक्ष तर्फ ११ सिट जितेर नेपाली काँग्रेस सुदूर पश्चिम ठुलो दल बनेको छ । प्रत्यक्ष तर्फ थप एक सिट जित्ने आङ्कलन गरिएको छ भने समानुपातिक तर्फ ८ वटा सिट ल्याउने अनुमान गरिएको छ ।

सुदूरपश्चिममा सरकार निर्माणका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्छन् । सुदूरपश्चिम प्रदेश सभामा गठबन्धनको बहुमत भएको र नेपाली काँग्रेस सबैभन्दा ठुलो दल भएकोले काँग्रेसको नेतृत्वमा सुदूर पश्चिम प्रदेश सरकार गठन हुनु पर्ने नेपाली काँग्रेसका नेताहरूको जिकिर छ ।

यस्तो छ, मेघराज खड्काको राजनितीक यात्रा

अछाम क्षेत्र नम्बर १ मा तत्कालिन समयमा एकमात्र मावि थियो, महेन्द्र मावि बयालपाटा। खड्काले महेन्द्र माविबाट २०३५ सालमा कक्षा ८ को पढाई सुरु गरे। त्यसको एक वर्षपछि २०३६ सालमा जनमत संग्रहको घोषणा भएसँगै खड्काले पढाईसँगै राजनीति पनि सुरु गरे। बहुदल र निर्दलका पक्षमा जनमतसंग्रह हुँदा उनी बहुदलको पक्षमा हुने विभिन्न कार्यक्रममा सहभागी भए।

२०४० सालमा उच्च शिक्षा हासिल गर्न कैलाली बहुमुखी क्याम्पसमा भर्ना भएका खड्का त्यसको डेढ महिनामै कांग्रेसका कार्यक्रममा सहभागी हुँदा प्रहरीको हिरासतमा थुनिए। त्यही बेलादेखि उनको सक्रिए राजनीति यात्रा सुरु भयो। खड्काले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०४१ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियु उपसभापति र ०४२ सालमा सभापति भएर काम गरे।

०४२ सालको सत्याग्रहमा साढे चार महिना जेल परेका खड्का पटक-पटक प्रहरी हिरासतमा थुनिए। विद्यार्थीको सक्रिए राजनीतिसँगै अछाम फर्केका खड्का २०४६ सालको जनआन्दोलनमा अछाममा चरम यातनासहित प्रहरी हिरासतमा थुनिए। पार्टीको संगठन निर्माणदेखि विभिन्न आन्दोलनमा सहभागी हुँदै निरन्तर राजनीतिमा सक्रिए खड्का २०४८ सालमा नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिती सदस्य भए।

२०५३ मा भएको पार्टीको ९ औं र १० औं महाधिबेशनबाट महाधिवेश प्रतिनिधि हुँदै महासमिती सदस्य भएका उनले ११ औं महाधिवेशनमा २०६२ देखि २०६७ सम्म कांग्रेस अछामको सभापति बनेर पार्टी हाँके। त्यसयता भएका १२ औं र १३ औं महाधिवेशनमा उनी लगातार महासमिती सदस्य बनेका खड्का १४ औं महाधिवेशनबाट महासमिती सदस्य हुँदै कांग्रेस सुदूरपश्चिम प्रदेशको महामन्त्री चुनिए।

यो बीचमा नेता खड्का २०५४ सालमा जिल्ला विकास समिती अछामको सदस्यमा समेत निर्वाचित भए। ०५४ देखि ०५९ सम्म उनले तत्कालिन जिविसको सदस्य भएर काम गरे। त्यो बेला आफ्नो क्षेत्रमा विकास निर्माणका महत्वपूर्ण काम गरेर खड्का जनतामाझ लोकप्रिय छन्।

तपाईको प्रतिक्रिया