Advertisement
SKIP THIS
कति छन सुदूरपश्चिम प्रदेशमा मतदाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा आइतबार अर्थात् भोलि ४ गते  हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ।

प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन्।

आमनिर्वाचनका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ सिटका लागि निर्वाचन भइरहेको छ।

९ वटै जिल्लामा १६ लाख ५८ हजार चार जना मतदाता रहेकोमा ८ लाख १५ हजार २१३ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ जना अन्य छन्।

यस्तै मतदान सम्पन्न भएको ५ दिनभित्रै प्रदेशमा प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसक्ने गरी तयारी थालिएको आयोगले जनाएको छ। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।

उनले भने, ‘मतदान भएको ५ दिनभित्रै पहिलो हुने प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसक्नेछ। बाँकी एक साताभित्रै अरू काम सम्पन्न हुनेछ।’ यसका लागि आवश्यक कर्मचारीसहित सबै प्रबन्ध मिलाइसकिएको भट्टले बताए।

आमनिर्वाचनमा सुदूरपश्चिमबाट ६८ प्रतिशतको हाराहारीमा मत खस्ने आँकलन गरिएको छ। मतदाता शिक्षासँगै नमुना मतदानसमेत सफल रूपमा सम्पन्न भइसकेकाले मत बदर अत्यन्तै कम हुने आयोगको दाबी छ।

कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका लागि पाँच तथा प्रदेशसभाका १० सदस्य छनोट हुनेछन्। कञ्चनपुरबाट प्रतिनिधिसभाका तीन र प्रदेशका ६, अछामबाट प्रतिनिधिसभाका दुई र प्रदेशसभाका ४ सदस्य छनोट हुनेछन्।

अन्य पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक–एकजना प्रतिनिधि र दुई-दुईजना प्रदेशसभा सदस्य चुनिन लागेका हुन्। कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई–दुईजना निर्वाचित हुन लागेका हुन्।

सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता छन्। सबैभन्दा बढी कैलालीमा ५ लाख ३५ हजार ५१४ र कञ्चनपुरमा तीन लाख दुई हजार ५०९ तथा अछाममा एक लाख ५८ हजार ६५७ मतदाता छन्।

सबैभन्दा कम बाजुरामा ८३ हजार ५६७ मतदाता छन्। बझाङमा एक लाख २२ हजार ३७६, दार्चुलामा ८९ हजार १५४, डडेलधुरामा ९१ हजार २०१, बैतडीमा एक लाख ५० हजार १२९ र डोटीमा एक लाख २४ हजार ८७० मतदाता छन्। प्रदेशभर एक हजार १६१ मतदानस्थल र दुई हजार १४६ मतदान केन्द्र तोकिएको छ।

तपाईको प्रतिक्रिया