Advertisement
SKIP THIS
निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २५ हजार सुरक्षाकर्मी परिचालन

अछाम:निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउँदै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले ११ हजार ५५९ म्यादी प्रहरीसहित प्रदेशभर सबै सुरक्षानिकायका करिब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

रावलका अनुसार नेपाल प्रहरीतर्फ मात्र विभिन्न दर्जाका ६ हजार ४१० जना निर्वाचनका लागि खटिएका छन् भने सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोही हाराहारीमा जनशक्ति परिचालन गरेको छ।

प्रदेशभरका एक हजार १६१ मतदान स्थलमध्ये सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गर्दै सोहीअनुसार सुरक्षा योजना बनाएर लागू गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ४०५ मतदान स्थल सामान्य, ४७४ संवेदनशील र ३५२ अति संवेदनशील सूचीमा छन्।

८८ वटा स्थानीय तहमा १७७ मोबाइल टोली, २० वटा रिजर्व फोर्स र आवश्यकता परेमा प्रत्येक बुथमा पुग्ने गरी हवाई गस्तीको पनि व्यवस्था गरिएको एसएसपी रावलले बताए।

सुरक्षा योजनाअनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिनेछ। हवाई गस्ती भने नेपाली सेनाले गर्नेछ।

सशस्त्र प्रहरीतर्फ ९ वटै जिल्लामा साढे पाँच हजार जना खटिएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैजनाथ वाहिनीका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रमेश शाहीले निर्वाचनका लागि प्रदेशभर तीन हजार ५३९ जना सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए।

उनले निर्वाचन सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरीले दोस्रो घेरमा रहेर सुरक्षा दिने बताए। नेपाल प्रहरीमा जस्तै सशस्त्र प्रहरीले पनि मोबाइल टोली, रिजर्व फोर्स गरेर छुट्टाछुट्टै टोली खटाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया