धनगढीः नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका नेता डाक्टर भीम रावल गृहजिल्ला अछाम आउदै छन्। बिहीबार रावलले आफू गृहजिल्ला अछाम गइरहेको जानकारी दिए।
‘म मेरो गृहजिल्ला अछाम आउदै छु’ उनले भने, ‘अहिले म डडेल्धुरा पुगेको छु, बाटोमै छु। आज नै अछाम पुग्छु।’ यस्तै निर्वाचन मुखैमा आइसक्यो अछाममा तपाइको सर्मथन कसलाई रहन्छ ? भन्ने प्रश्नमा उनले मौन अवधि सुरु हुने भएकाले अब मत दिएर मात्रै फर्कने बताए। त्यस्तै उनले गृहजिल्लामा पनि कुनै उम्मेदवार तथा नेतासँग भेट्ने कार्यक्रम नरहेको जनाए।
रावल एमालेले अछाम १ बाट प्रतिनिधि सभाको टिकट नदिएपछि रुष्ट भएका थिए। नेकपा एमालेको अछाम र सुदूरपश्चिम प्रदेश कमिटिले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि रावलको नाम सिफारिस गरेको थियो। तर, उनले टिकट पाएनन्। एमाले पार्टीको केन्द्रले रावलको टिकट खासेर सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री झपट बोहरालाई टिकट थमाएर चुनाव लड्न मैदानमा पठाएको छ।
यस्तै यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा बहालवाला श्रम तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर उम्मेदवार छन्। अघिल्लो पटक भीम रावल प्रतिनिधि सभामा निर्वाचित हुँदा हालका एमाले उम्मेदवार बोहरा प्रदेश सभामा विजयी भएर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए भने नेकपा एसका हालका उम्मेदवार एमालेबाटै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए।










