गीता कुँवर,अछाम :साँफे–धनगढी हाईवे छेउमै जस्तापाताले छाएको सानो घर । जीर्ण र खिया लागेको जस्तापाताले छाएको कटेरो । कटेरोको अगाडि टाँसिएको नेपालको राष्टिय गानको अलि अलि मेटिदै जान थालेका शब्दहरु । पानी पर्दा चुहिन्छ । घाम लागे गर्मी हुन्छ । जेनतेन जस्तापातालाई थेग्नलाई गाडिएका काठहरु कुहिसकेका छन् । तर पनि सरसफाई गरेर चिटिक्क पारिएको छ। भित्र–बाहिर गर्दा टाउको ठोक्किन्छ । हरेक वर्षायाममा पानी चुहिन्छ। बर्खायाममा सर्पको डर । जाडोमा राती चिसोको समस्या झनै । शौचालयको उस्तै समस्या । सडकको छेउमा नुहाउनुपर्ने बाध्यता । खाना पकाएका र खाएका भाडा सडकमै धुनुपर्ने अवस्था । यो दृश्य अछामको साँफेबगर नगरपालिका ३ सिद्धेश्वर बजारस्थित प्रहरी चौकीको हो। यही टिनको छानोबाट प्रहरीले सुरक्षा दिँदै आएको छ। नागरिक सुरक्षाका लागि यहाँ खटिएका प्रहरीले लामो समयदेखि भोग्दै आएको समस्या हो यो ।
साँफेबगर अछामभरीमै सुगम ठाउँको रुपमा परिचित छ । सुगम भएकै कारण साँफेबगर मुख्य व्यापारिक केन्द्र पनि हो । यहाँ व्यापारिक चहलपहल, कृषि, कलेज, सरकारी तथा बोर्डिंङ स्कुलहरू, बैंक तथा वित्तिय संस्थाहरू छन् । यी सबैलाई सुरक्षा दिन भनेर स्थापना गरेको प्रहरी चौकी भने निकै जिर्ण र कमजोर छ । यस्तो समस्या यहाँका अधिकांश प्रहरी कार्यालयले भोग्दै आएका छन्। नागरिकको सुरक्षामा खटिनुपर्ने प्रहरीलाई कार्यालयको चिन्ता देखिन्छ। साँफेबगर जिल्लाको अन्य ठाउँ भन्दा सुबिधा सम्पन्न ठाउँ मानिन्छ । बजारमा भौतिक संरचनाहरु राम्रा छन् । ति राम्रा भौतिक संरचनाहरुलाई एउटा प्रहरी चौकीको टिनको छानोले गिज्याईरहेको जस्तो देखिन्छ । मासिक ५ हजार ४ सय घर भाडा तिर्दे आएको प्रहरी निरिक्षक भक्तबहादुर धामीले बताए । हावाहुरी पानी परेको दिन जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने,‘काठ कुहिसकेको छ ,कुन दिन भत्कीने हो थाहा छैन । काठ मात्रै फेर्न पाएपनि धेरै राहत हुने थियो । सडकमै भाडा माझ्नु पर्छ, सडकमै नुहाउन पर्छ,लाज मानेर के गर्नु बाध्यता यस्तै छ ।’ साँफेबगर प्रहरी चौकीमा १४ जनाको दरबन्दी रहेकोमा अहिले ११ जना कार्यरत रहेका उनले बताए ।
रामारोशन गाउँपालिका ३ सान्तडाको अवस्था झन् दयनिय छ । भैंसीगोठ रङरोगन गरी चिटिक्क पारिएको छ। त्यहाँका स्थानीयहरुले भैंसी बाँध्नलाई बनाएको (खरक) गोठ हो त्यो । हरेक वर्ष त्रिपाल फेरेन भने पानी चुहिन्छ । बर्खामा सर्पको डर उस्तै। यही भवनबाट प्रहरीले सुरक्षा दिँदै आएको छ । ‘भैसी बाँध्ने र माथी गोठालो सुत्नका लागी बनाईएको पुरानो भैसी गोठ हो प्रहरी सहायक निरिक्षक राजेन्द्र भट्ट्ले भने रंगरोगन गरेर अलिअलि गुजारा चलाएका छौं,स्थानीयहरु बिच जग्गा बिवादका कारण लामो समयदेखि भवन बन्न सकेको छैन ।’ भवन निमार्णका लागी गाउँपालिकाबाट पहल भईरहेको भन्ने जानकारी पाएको उनले बताए ।
ढकारी गाउाँपालिकास्थित प्रहरी चौकी आठ दशक पुरानो जीर्ण घरमा छ । भाडाको घर, बर्खामा चुहिन्छ। स्थानीय तहका नागरिका सुरक्षाको जिम्मेवारी लिएका ग्रामीण क्षेत्रका प्रहरी नै आफै असुरक्षित छन् । ग्रामीण क्षेत्रका अधिकाश प्रहरी चौकी भाडाको भवनमा सञ्चालनमा रहेका र ती जीर्ण अवस्थामा रहेकाले समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अछाममा जिल्ला प्रहरी कार्यालय सहित सात इलाका, १३ चौकी, एक ट्राफिक प्रहरी कार्यालय,पाँच अस्थायी पोस्ट छन्। यीमध्ये जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी चौकी साँफेबगर, पञ्चदेवल बिनायक,बयालपाटा, बैद्यनाथ, सिउडी, जयगढ, तुर्माखाँद, बारला, चौखुट्टे र मंगलसेन प्रहरी चौकी मात्रै आफ्नो भवनमा छन्। गाउँका कार्यालय जीर्ण हुँदा सेवाप्रवाहमा समस्या हुदै आएको प्रहरीले जनाएको छ ।










