Advertisement
SKIP THIS
सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने

धनगढी:सुदूरपश्चिममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने निर्णय गरेको छ । प्रदेश विपद् कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख र २० हजार थप किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो । सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मान्त्रालयमा बसेको विपद् कार्य समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले घर क्षति भएका परिवारलाई जनही ५० हजार क्षतिपूर्ति दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणवहादुर रावलले जानकारी दिए । यस्तै पछिल्लो समयमा डेंगीको समेत प्रकोप बढेकाले सो को नियन्त्रणका लागि १० लाख बराबरकोे झुल खरिद गर्ने र पीडितहरूलाई राहत दिनका लागि १०/१० लाखको म्याट र त्रिपाल खरिद गर्ने निर्णय गरेको छ । पीडितहरूलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउनका लागि एक करोड रुपैयाँ स्थानीय तहलाई दिइने निर्णयसमेत भएको मन्त्री रावलले जानकारी दिए ।

सुदूरपश्चिममा गत शुक्रबार आएको बाढी पहिरोमा परी २६ जनाको मृत्यु भएको छ । अछाममा आएको बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएको छ । कैलालीमा तीनजनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोमा परी तीन जिल्लामा चार हजार पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कैलालीमा चार हजार ५०, कञ्चनपुरमा ४२० र अछाममा ३४ परिवार विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया