Advertisement
SKIP THIS
गठबन्धन बलयार, आले र भट्ट, कसले पाउँला ?

धनगढी:प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिएसँगै डोटीमा पनि महोल तातेको छ । एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनबाट तीन प्रभावशाली नेताले संघीय संसद् ताकेपछि उमेदवार टुंगो लगाउन थप सकस बन्ने देखिएको छ ।

डोटीबाट संघीय सांसद बन्न नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलयार, नेकपा (एकीकृत समाजवादी)बाट अहिलेका सांसद प्रेम आले र हाल सुदूरपश्चिमका मुख्यमन्त्रीसमेत रहेका त्रिलोचन भट्टले दाबी गरेपछि गठबन्धनभित्र तनाव चुलिएको छ ।

०७४ सालको निर्वाचनमा प्रदेश सांसद भएर अहिले प्रदेश सरकारका मुख्यमन्त्री रहेका भट्ट आगामी चुनावमा आफू फेरि प्रदेशमा नलड्ने बताउँछन् । ०७४ मा वाम गठबन्धन रहँदा संघीय सांसद निर्वाचित भएका तत्कालीन नेकपा (एमाले) का प्रेम आले यसपटक एकीकृत समाजवादीबाट शक्तिशाली दाबेदार रहेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका बलयार २०७४ मा आलेसँगै पराजित भएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेकै बेला बलायरलाई आलेले एक हजार ६३२ मत अन्तरले पराजित गरेका थिए । आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत पाएका थिए ।

०७४ सालमा बलायरलाई हराएका आले २०७० सालमा डोटी क्षेत्र नम्बर २ बाट सांसद बन्दा बलायर डोटी क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । बलायर, आले र भट्ट तीनै जनाले संघीय सांसदकै दाबी गरेपछि गठबन्धनलाई उमेदवार छान्न थप कठिन हुने देखिएको छ ।

डोटीमा एकीकृत समाजवादीले आलेलाई उम्मेदवार बनाउने भनेर सिफारिससमेत गरिसकेको छ । कांग्रेसका बलायर पनि प्रतिनिधिसभा निर्वाचन लडेरै छाड्ने मुडमा छन् । यस्तै, मुख्यमन्त्री भट्ट पनि ‍माओवादी केन्द्रबाट बलिया दाबेदारको रूपमा प्रस्तुत भएका छन् ।

डोटीमा कांग्रेस बलियो भए पनि गठबन्धनको भागबन्डामा समाजवादीबाट आलेको सम्भावना बढी देखिएको कांग्रेसकै एक नेता बताउँछन् । आलेले संघीय टिकट पाउँदा कांग्रेसका बलायरले प्रदेशमा लड्नुपर्ने बाध्यता पर्नसक्ने उनको अनुमान छ ।

तर, कांग्रेस डोटीका कार्यकर्ता तथा नेताहरूले डोटीमा गठबन्धन नगर्न चेतावनी दिँदै आएका छन् । गत स्थानीय तहको निर्वाचनमा पनि डोटीमा कांग्रेस एक्लै लडेको थियो । संघीय चुनावमा ९० प्रतिशत मत कांग्रेसलाई आउने डोटी कांग्रेसका नेता कार्यकर्ताले दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया