Advertisement
SKIP THIS
राशन घोटाला काण्ड:सशस्त्र एसपी बिष्टको जिम्मेवारी खोसियो

काठमाडौं: आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका सशस्त्र प्रहरी बल दार्चुलाका एसपीको जिम्मेवारी खोसिएको छ।

दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी त्रिभुवन विष्टको जिम्मेवारी खोसिएको हो। एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिन प्रावधान भए पनि त्योभन्दा बढी ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर राशन अनियमितता गरेको आरोप छ। राशनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो।

समितिले एसपी विष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो। यसअघि राशनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो। हाल उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन्।

संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप साहुमाथि लागेको छ। राशन अनियमितताको मात्रै नभएर हतियार जस्तो संवेदनशील विषयको सूचना समेत बाहिर पठाउने गरेको आरोप उनीमाथि लागेको छ।

उक्त आरोप लागेपछि गठन भएको सशस्त्र प्रहरी विशेष अदालतले साहुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। साहुमाथि लागेको अभियोगका सन्दर्भमा अन्तिम फैसला भने हुन बाँकी नै छ।

तपाईको प्रतिक्रिया