Advertisement
SKIP THIS
अछामको पहिलो कैलाश खोला जलविद्युत आयोजना १ दशक देखि बन्द

तारामान खड्का अछाम: अछामको पहिलो जलविद्युत कैलाश खोला साना जलविद्युत आयोजना १ दशक देखि बन्द अवस्थामा रहेको छ।

२०४५ सालमा सुरु भई २०५३ सालमा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले समुद्घाटन गरेको ४०० किलाेवाट क्षमता भएकाे अछामकाे पहिलाे कैलाश खाेला साना जलविधुत आयाेजना बन्द अवस्थामा रहेकाे छ ।

चिन सरकारकाे करिब १८ कराेडकाे लागतमा निर्माण गरिएकाे आयाेजना अहिले बन्द अवस्थामा रहदा उपकरण समेत जिर्ण अवस्थामा रहेका छन। बिधुत उत्पादनमा प्रयोग हुने उपकरण खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन।

२०५८ सालमा अछाम आक्रमणका क्रममा माओबादीले आयाेजनाकाे विधुत गृहमा पनि क्षति पुर्याएका थिए ।माओवादी आक्रमणको केही वर्षपछि पावर हाउस पुनः निर्माण भई विधुत सञ्चालनमा आएपनि हिउँदकाे समयमा खाेलामा पानिकाे मात्रा घट्ने र वर्षातकाे समयमा वाढीले ड्याम र नहर भत्काउने समस्या आउदाँ बिधुत उत्पादन बन्द हुन पुगेकाे कार्यालयका कर्मचारी गंगे कामिले बताउँछन् ।

हाल राष्ट्रिय प्रशारणको बिधुत अछाम पुगे पनि मौसममा सामान्य बदलि आएमा अछाम जिल्लाको विद्युतमा पनि समस्या आईरहेको छ । क्षमता भन्दा बढी विद्युतलाईन विस्तार हुदाँ विधुत प्रसारणमा कठिनाई भएको हो । पटक पटक कार्यालयलाई ध्यानाकर्षण गराउँदा कार्यालयले विभिन्न बाहाना देखाउदै आईरहेको उपभोक्ता सुरत सुनारले बताए ।

अछाममा विद्युतको बैकल्पिक व्यवस्थाका लागि लामो समयसम्म बन्द अवस्थामा रहेको कैलाश खोला साना जलविधुत आयोजनाको मर्मतका लागि स्थानीय सरकार, राजनितिक दल र सबै सरोकारबाला पक्षले ध्यान नदिएकाले यसको मर्मत तथा पुुन निर्माणका लागि सबैले पहल गरी सुचारु गर्नु पर्ने उपभोक्ता जीवन बहादुर बुढाले बताए ।

सञ्चालन भएको बेला कैलाश खोला जलविद्युत् आयोजनाले जिल्लाका मुख्य व्यापारी केन्द्र साँफेबगर, मंगलसेन, बयालपाटा र जयगढमा विस्तार गरिएकाे थियोे ।त्यसबाट त्यहाका कयौं घरघुरिले बिधुत प्रयोग गरिरहेका थिए ।

अहिले कैलालीकाे अत्तरियाबाट लामाे दुरीकाे हाईटेन्सन लाईनबाट डाेटीकाे दिपायल हुँदै अछामसम्म ३३ केभिए बिधुत लाईन प्रसारण गरिएकाे छ । । २०६४ सालमा राष्ट्रिय प्रशारण लाईन अछाम पुगेपछि कैलाश खाेला पावर हाउस पुर्ण रुपमा बन्द भएको हो। कैलाश खाेला जलविद्युत आयोजना स्थलमा अझै पनि ३ जना कर्मचारी कार्यरत छन। उनिहरुले बन्द रहेको आयोजनालाई कुरिरहेका छन।

नेपाल बिधुत प्राधिकरण अछाम बितरण प्रमुख जयानन्द बोगटी भने आयोजना सञ्चालन गर्न प्रयास भईरहेको बताउँछन ।आयोजना सञ्चालनमा चुनौती छ,छुट्टै प्रशारण लाईन बनाउनु पर्छ, सञ्चालन गर्दा सञ्चालन खर्च समेत धान्न नसक्ने अवस्था रहेको छ,उनलेे भने ।

तपाईको प्रतिक्रिया