Advertisement
SKIP THIS
आफ्नै दलका मन्त्रीले योजना बेपत्ता पारेको सुदूरपश्चिम प्रदेश सांसदको गुनासो

धनगढी : नेकपा एकीकृत समाजवादीकी सांसद सुशीला बुढाथोकीले आफ्नै दलका मन्त्रीहरूप्रति गुनासो पोखेकी छन्।

प्रदेशसभामा बजेटमाथिको छलफलमा धारणा राख्दै बुधबार उनले आफ्नै दलका मन्त्रीले पनि योजना नदिएको गुनासो पोखेकी हुन्। असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमा आज छलफल शुरु भएको छ।

बुढाथोकीले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मनबहादुर धामीप्रति असन्तुष्टि जनाएकी छन्। ‘पर्यटनमन्त्रीलाई धन्यवाद छ। पोहोर साल पनि लिष्ट गायब गरिदिनुभयो‚ अहिले पनि गायब गर्नुभएको छ। मेरो वडामा मैले भनेको योजना परेन। अरू कसैले भनेको आयोजना परेको छ‚’ बुढाथोकीले भनिन्।

उनले आफ्नो क्षेत्रमा १० करोड बजेट पनि नपुगेको दाबी गरेकी छन्। ‘कसैको वडामा १५ करोड पुग्छ। दुई मन्त्री हुँदा पनि आवश्यक बजेट भएन’, उनले भनिन्, ‘भौतिक पूर्वाधारले काट्दिनुभयो। अर्थमन्त्रीले आफ्नै क्षेत्रमा २ अर्ब लानुभयो‚ ४० वटा मन्दिर बनाउनुभयो। हाम्रो एउटा मन्दिर पनि आवश्यक ठान्नुभएन।’

भौतिक विकास र आर्थिक मामिलामन्त्री दुवै जना नेकपा एकीकृत समाजवादीका मन्त्री हुन्। बुढाथोकीले बजेटको सन्तुलन नमिलेको भन्दै त्यसको सम्पूर्ण दोष मुख्यमन्त्री त्रिलोचन भट्टले लिनुपर्ने बताइन्।

‘सरकार प्रमुखलाई दोष जान्छ। सबै मन्त्रालयमा ध्यान दिनुपर्ने हो। बजेट बिग्रेको अनुभूति हामीले गरेका छौं’, उनले भनिन्, ‘सबै मन्त्रीको जिल्लामा बजेटको खात छ। माननीयको जिल्लामा अवस्था चिन्ताजनक छ।’

तपाईको प्रतिक्रिया