तारामान खड्का अछाम :अछाममा हवाई सेवा १ महिना देखि बन्द भएको छ । अछामको साँफेबगर बिमानस्थलमा उडान भर्दै आएका नेपाल एयरलाईन्स र समिट एयरलाइन्सले विभिन्न कारण देखाउदै उडान कटौती गरिरहेका छन् । अछाममा जहाज नआउदाँ यात्रुहरुले धनगढी अछाम आयोत—जोवोतमा ८ घण्टा बढी समय सडकमार्ग प्रयोग गर्नु परेको छ ।
तत्कालीन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेको निर्देशनमा गत कात्तिकबाट धनगढी—अछाम उडान सुरु गरेको नेपाल एयरलाइन्सले १ महिना देखि उडान बन्द गरेको हो । साँफेबगरमा रहेको नेपाल एयरलाइन्सको कार्यलयका अनुसार क्षेत्रीय कार्यालयले १ महिना सम्म जहाज नआउने जानकारी गराएको तर १ महिना बढी बितीसक्दा समेत जहाज नआएको नेपाल एयरलाइन्स साँफेबगरका प्रतिनीधि चक्र कुँवरले बताए ।
नेपाल एयरलाइन्सका टुइनअटर जहाज उडाउने पाइलट कारवाहीमा पर्दा पाइलट अभावमा जहाज साँफेबगर नआएको बुझीएको छ । नेपाल एयरलाइन्सले शुक्रबार र सोमबार धनगढीबाट अछाम नियमीत उडान भरिरहेको थियो ।
यस्तै नियमित उडान तालिका नभएपनि अछाम आईरहेको समीट एयरलाइन्सको जहाजले मनाङ,सोलुखुम्बुमा बिदेशी पर्यटक बोक्दा अछामको उडान कटौती भएको बुझिएको छ । बिदेशी नागरिकहरु बोक्दा बढी भाडा तिनुपर्ने कानूनी व्यवस्थाका कारण एयरलाईन्स कम्पनीहरुले दुर्गम ठाउँका उडान कटौती गर्ने गरेका छन् ।