Advertisement
SKIP THIS
अछाम अदालतबाट दोषी ठहर भएकी किशोरीले विवाहको नाटक गर्दै सम्पत्ति लिएर हिँडेको आरोप

मदन ढुंगाना काठमाडौं: बलात्कार पीडित किशोरीलाई नै सजाय हुनेगरी अछाम जिल्ला अदालतले गरेको फैसलाले केही समय पहिले ठुलै तरङ्ग ल्याएको थियो । अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले जाहेरीकर्ता किशोरीलाई नै ३ वर्ष ६ महिना कैद सजाय सुनाएपछि उक्त फैसला चर्चामा आएको थियो ।

फैसलापछि धेरैले न्यायाधीशमा कार्यक्षमताको अभाव भएको र निस्क्रिय भइसकेको अध्यादेशका आधारमा फैसला गरिएको भन्दै आलोचनासमेत गरेका थिए । यही आलोचनाका बीच कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालत काजमा तानेर छानबिन समेत गरिरहेका छन् ।

पीडित किशोरीलाई नै उल्टै सजाय सुनाएको भन्दै अदालतमाथि अधिकारवादी संघ संगठन खनिएकै बेला किशोरीले बोल्न नसक्ने एक युवकलाई विवाहको नाटक गरी ठगी गरेको अर्को पाटोको खुलासा भएको छ । अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ की १९ वर्षीय कबिता कटुवाल ( परिवर्तित नाम) ले अछामकै रामारोशन गाउँपालिका वडा नम्बर २ मा पर्ने चाफामाण्डाै​ मुजा भन्ने स्थानका बोल्न नसक्ने २८ वर्षीय एक युवकलाई विवाहको नाटक गरी ठगी गरेको खुलेको हो ।

गत असोज १ गते ती किशोरीले नन्दराम पौडेलसँग विवाहको नाटक गरी करिब ३० हजार नगद, २० हजारको लत्ताकपडा आदि लिएर भागेको पीडित पौडेलका भाइ र बुहारीले रातोपाटीलाई बताएका छन् । पीडित नन्दराम पौडेलका भाइबुहारी निर्मला पौडेलका अनुसार ती किशोरीसँग नन्दरामको पहिलो भेट गत असोज १ गते कमलबजारमा लागेको संक्रान्ति मेलामा भएको थियो ।

ती किशोरीले नन्दराम बोल्न नसक्ने भए पनि आफू विवाह गर्न तयार रहेको र राम्रोसँग पाल्ने भन्दै युवकका परिवारका सदस्यसँग कुराकानी गरेपछि असोज १ गते नै युवकका परिवारले बेहुला र बेहुलीका लागि कपडा आदि खरिद गरी करिब एक लाख रुपैयाँ खर्च गरेर विवाह गराइदिएका थिए ।

असोज १ गते विवाह गरेर रामारोशन गाउँपालिका वडा नम्बर २ को चाफामाण्डाै​ मुजामा युवकको घर आएकी किशोरीले त्यसको भोलिपल्ट नै युवकसँग नबस्ने र आफूलाई जबरजस्ती ल्याएको भन्दै प्रहरीलाई समेत खबर गरेकी थिइन् ।

नन्दरामका भाइबुहारी निर्मलाले रातोपाटीसँग भनिन्, ‘गत असोजको १ गते कमलबजारमा संक्रान्तिको जात्रा थियो । दाइ र बुवा त्यही जात्रामा जानुभएको थियो । त्यो केटीले दाइ (जेठाजु)लाई त्यही जात्रामा देखेकी रहिछन् । अनि बोल्न नसक्ने भन्ने थाहा हुँदाहुँदै पनि बोल्न नसक्ने भए पनि विवाह गर्छु भनेर उनैले जिद्दी गरेपछि बुवा (ससुरा) र गाउँका अन्य मानिसहरुले त्यही दिन नयाँ कपडा र आवश्यक सरसामान किनी विवाह गरिदिइ घर ल्याउनुभएको थियो । सोही दिन गाउँमा बोल्न नसक्नेले पनि विवाह गऔयो भनेपछि मानिसहरु जम्मा भए र उनीहरुलाई भोजसमेत खुवाइएको थियो । भोज खुवाउने लगायतको काममा ती केटी पनि सहभागी थिइन् । उक्त रात उनी यहीँ बसिन् ।’

तर विवाहको भोलिपल्ट अर्थात् असोज २ गते बिहानैदेखि केटीले निहुँ खोजेको निर्मलाले बताइन् । उनले भनिन्, ‘असोज १ गते विवाह गरेर आएकी केटीले असोज २ गते बिहानैदेखि निहुँ खोज्न थालिन् । आफूलाई जबरजस्ती विवाह गराइदिएको भन्दै आफू घर जाने र मुद्दा हाल्नेसम्म भन्न भ्याइन् । अनि उक्त दिन बिहानै प्रहरीलाई समेत खबर गरी नयाँ कपडा लगायत विवाहमा किनेको सबै कुरा र १६ हजार पैसा लिएर दुलही हिँडिन् । त्यसपछि करिब ३ दिन उनी माइती पनि नगई ताली भन्ने स्थानमा गएर प्रहरीमा उजुरी गरिछिन् ।’
त्यसपछि प्रहरीले आफूहरुलाई बोलाएको उनले बताइन् । उनले भनिन्, ‘त्यहाँ बुवा जानुभएको थियो । त्यसपछि किशोरीले पैसा मागिछे । तर हामी अति गरिब परिवारको भएकाले धेरै पैसा दिन सक्ने अवस्था पनि थिएन । तर त्यहाँ तीन दिन बसेर उनले खाएकी, प्रहरीले खाएको र अन्य व्यक्तिहरुले पनि खाएको सबै पैसा तिरेर बुवाले अर्को १५ हजार पैसा दिएर गाउँका मान्छेहरुलाई पठाएर केटीलाई उसको आमाको जिम्मा लगाएका हुन् ।’

नन्दरामका भाइ शंकरराज पौडेलले पनि केटी आफै जिद्दी गरेर सम्पत्ति हडप्ने उद्देश्यका साथ जबरजस्ती विवाह गरेर आएकी बताए । उनले भने, ‘मेरो दाइ बोल्न सक्नुहुन्न । यस्तो मान्छेसँग विवाह गर्छु भन्नुको उद्देश्य सम्पत्ति हडप्ने भन्ने रहेछ । नयाँ कपडाहरु पनि चाहिएको रहेछ क्यारे, त्यही भएर विवाहको नाटक गरेर एक रात यहाँ बसेकी रहिछ । पछि कपडा र पैसा बोकेर भोलिपल्टै यहाँबाट गएकी रहिछे ।’

त्यतिबेला प्रहरीहरुले पनि केस भएमा अप्ठेरो हुन्छ भनेर बुवालाई थप पैसा तिर्न लगाएको उनले बताए । ‘त्यो केटीले त्यो भन्दा पहिले नै ठूलासैन भन्ने स्थानमा पनि विवाह गरेकी भन्ने थाहा भयो,’ उनले भने, ‘त्यहाँ पनि विवाह गरेर सम्पत्ति लिएर गएकी हो रे । हामीलाई त त्यसबारे पछिमात्रै थाहा भएको हो । त्यो केटी त जहाँ पनि विवाह गर्ने र सम्पत्ति लिएर जाने गरेकी रैछ ।’

यता अछाम जिल्ला अदालतबाट बलात्कारको अभियोगमा सफाई पाएका नन्दराम खनालले पनि किशोरीले पहिले नै विवाह गरिसकेको कुरा आफूले माग्न गएपछि मात्रै थाहा पाएको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै खनालले भने, ‘विवाहका लागि केटी माग्न भनेर म आफै गएको हो । कुराकानी पनि भयो । तर मेरो घरमा जुठो परेपछि तत्काल विवाह गर्न मिलेन । अनि त्यही समयमा पहिले पनि विवाह गरिसकेको भन्ने कुरा सुनेपछि मैले उनलाई सोधेको थिएँ । त्यो सोधेपछि उनी रिसाएकी थिइन् ।’

तत्काल विवाह गर्न नमिल्ने भयो भनेपछि उनले आवेगमा आएर जाहेरी दिएको उनको भनाइ छ । ‘पछि अदालतमा उनले जे भएको हो, त्यही कुरा भनेपछि मलाई सफाई दिइएको हो । अब उनलाई के कति कारणले जेल सजाय तोकिएको हो, त्यसबारे मलाई थाहा छैन,’ उनले भने, ‘अहिले मैले सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा छैनन् । उनको मोबाइल पनि स्वीच अफ नै छ ।’

खनालका अनुसार जाहेरी दिएपछि पनि एकदुई पटक किशोरीसँग उनको कुराकानी भएको थियो । त्यतिबेला पनि जुठो सकिएपछि विवाह गरौंला, यस्तो झुठो जाहेरी फिर्ता लिउ भनेर आग्रह गरेको खनालले बताए । तर जिल्ला अदालतले फैसला गरिसकेपछि किशोरी सम्पर्कमा नआएको र उनी अहिले कहाँ छिन् र के गरिरहेकी छिन् भन्नेबारे आफूलाई केही जानकारी नभएको उनले बताए ।

पहिले पनि विवाह गरेर सम्पत्ति लिई छाडेको सम्बन्धमा पीडित भनिएकी किशोरीसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन । यस सम्बन्धमा उनको प्रतिक्रिया लिनका लागि उनले प्रयोग गर्ने मोबाइल फोनमा सम्पर्क गर्दा उनको मोबाइलको स्वीच अफ थियो ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया