राजाराम न्यौपाने काठमाडौं:बाग्मती प्रदेशको चुरियामाईमा अवस्थित ‘एशियाकै पहिलो’ सुरुङमार्गको पुनर्निमाण सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सुरुङमार्ग पुनःनिर्माणको शिलान्यास गरेका छन् ।
बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. सहदेव बहादुर भण्डारीले यो एसियाकै पहिलो सुरुङमार्ग भएको दावी गरे । यसलाई बागमती प्रदेश सरकारले करिब ३ करोड लागतमा पुनर्निर्माण गरेर फेरि सञ्चालनमा ल्याउन लागेको हो ।
सुरुङमार्गको पुनर्निर्माण बैशाखसम्म सक्ने लक्ष्य छ । तर ५ सय मिटरको सुरुङमार्गको २ सय मिटर मात्रै रेक्ट्रोफिटिङबाट पुनर्निर्माण गरेर सञ्चालन गर्नसक्ने अवस्था छ ।
भुकम्पले भएको क्षतिको पुनर्निर्माण, टनेल मजबुत गर्ने र पहिरोले क्षति भएको भागलाई मर्मत गर्न लागिएको हो । यो सुरुङमार्ग पुनर्निर्माणपछि मात्रै कसरी प्रयोगमा ल्याउने भन्ने निर्णय हुने भण्डारीले बताए ।
हटौंडा र अमलेखगञ्जलाई सडकले जोड्न चुरे पहाडमा १ सय ४ वर्ष पहिलो चुरियामाई सुरुङमार्ग निर्माण भएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजंग थापाले १९७४ सालमा गरेका थिए ।









