Advertisement
SKIP THIS
कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा

पत्रपत्रिका:क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो।

महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन।केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख क्रियाशील सदस्यताको टुंगो लगाउँदै प्रतिवेदन बुझाएको छ।

तर बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यको फाइल खोलिएको छैन भने धनुषा र सर्लाहीका एकरएक निर्वाचन क्षेत्रको सदस्यता विवाद कायमै छ। सात सयभन्दा बढी वडाको सदस्यता टुंगो लाग्नै सकेको छैन। समितिले बुझाएको प्रतिवेदनमा पनि अझै प्राविधिक पक्ष मिलाउन बाँकी छ ।

त्यसलाई मिलाएर बिहीबार मध्याह्नसम्म अन्तिम प्रतिवेदन बुझाउन बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई निर्देशन दिएको छ।
बारा र सप्तरीको नयाँ सदस्यको फाइल नै नखोलेको भन्दै नेताहरूले छानबिन समितिप्रति असन्तुष्टि जनाएका छन्।

‘सदस्यता फाराम नै नखोली त्यहाँ समस्या रहेको के गरी थाहा भयो’ भन्ने प्रश्न गर्दै नेताहरूले ती दुई जिल्लालाई पनि प्रक्रियामा लैजान समितिलाई निर्देशन दिएका छन्। ‘छानबिन समितिले बुझाएको प्रतिवेदनमा केही प्राविधिक पक्ष मिलाउन बाँकी छ,’ समिति सदस्य श्यामकुमार घिमिरेले भने, ‘त्यसलाई मिलाएर प्रतिवेदन बुझाउनेछौं।’

यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया