धनगढीः सुदूरपश्चिम प्रदेशका ३ सडक पहिरोले अवरुद्ध भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको जयपृथ्वी राजमार्गको सुबेणा–कचाली खोला र तमेल भीर, दाचुलाको भित्रि सडक र बाजुराको साँफे–मार्तडी सडक पहिरोले अवरुद्ध भएका हुन्।
बिहिवार बिहानसम्म वर्षाका कारण पहिरो हटाउन सकिएको छैन। डोजरले पहिरो हटाउन सुरु गरेपछि पुनः वर्षा भएकाले हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।
दार्चुलाको धौलाकोट क्षेत्रको भित्र सडक पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। तर दार्चुला–धनगढी मुख्य सडकमा भने पहिरो छैन।
सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको हो।