डोटी : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् ।
निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका ४, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
यसैगरी भारतबाट रोजगारी गरी घर फर्किएका डोटीका दुईको मृत्यु भएको थियो । उनीहरूको कोरोना परीक्षण नगरिएका कारण कोरोना सङ्क्रमणबाट मृत्यु भएको सूचीमा नराखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । कोरोना कहर शुरु भएदेखि हालसम्म प्रदेशभर कोरोना सङ्क्रमणबाट ८६ जनाको मृत्यु भइसकेको छ ।









