Advertisement
SKIP THIS
अछाम जिल्लाको नामकरण कसरी भयो

डा. हर्क बहादुर शाही :अछाम जिल्लाको पुरानो नाम ‘नौखुवा’ थियो। यस जिल्ला भित्र नौं ओटा खुवा वा क्षेत्र (दरा) भएकाले नै यसको प्राचीन नाम नौखुवा रहेको हुन सक्छ। यस जिल्लाको नाम अछाम कसरी रह्यो भन्ने सम्बन्धमा सात ओटा किम्वदन्तीहरू प्रचलनमा रहेका पाइन्छन्। ती जनश्रुतिलाई निम्नानुसार चर्चा गर्न सकिन्छ।

पहिलो किम्वदन्ती अनुसार भृगु ऋषिका छोरा शङ्‍कराचार्यले अछाम जिल्लाको रामारोसनमा तपस्या गरी महादेवबाट अक्षय वरदान पाएकाले उनै अक्षयको नाम पछि अपभ्रंश भएर यस जिल्लाको नाम अछाम रहन गयो (शाह, २०६७ : ११-१२)।दोस्रो किम्वदन्ती अनुसार अश्‍वलायन ऋषि खेचराद्री पर्वत तिर आउँदा साथमा ‘अक्षम’ नाम गरेका शिष्यलाई हालको रामारोसन क्षेत्रमा तपस्या गर्न लगाए।

उनको तपस्याको तेजले वरिपरिको वातावण तेजोमय र आकर्षण भयो। त्यही तेजोमय धर्तीलाई अक्षम स्थल भनियो। पछि अक्षम स्थल शब्द अपभ्रंश भएर अछाम रहन गयो (शाह, २०६७ : ११-१२)।तेस्रो किम्वदन्ती अनुसार अछामको पहिलो राजधानी सेरा बुढीथर्पु (हाल सेरा गाविस) को नजिक पास्तोली गाउँमा माटोलाई कतै नछोई ढुङ्‌गाबाट मात्र पानीको मूल निस्केर तिन ओटा धारा बनी पास्तोली गाड (खोलो) बनेको छ।त्यस पानीलाई ‘अच्छाम्भस’ (अच्छ ‌र अम्भस) भनिन्थ्यो।

यसको अर्थ स्वच्छ पानी र आकाश भन्ने हुन्छ।पछि त्यही ‘अच्छाम्भस’ शब्द अपभ्रंश हँदै अछाम नाम रहन गयो (शाह, २०६७ : ११-१२)।चौथो किम्वदन्ती अनुसार मुगल साम्राज्यको चर्को दमन सहन नसकी केही भारतीय हिन्दुहरू नेपाल पस्न बाध्य भए।हिंडने क्रममा उनीहरू तत्कालीन नौखुवा अछाम पुगे। त्यसबेला नौखुवामा प्रशस्त आँप पाइनथ्ये। अनुकूल हावापानी र मीठो आँप पाइने हुनाले भारतीय हिन्दुहरू नौखुवामै बसोबास गरे। हिन्दी भाषामा मीठो आँपलाई अच्छा आम भनिन्छ। पछि त्यही अच्छा आम शब्द परिवर्तन भएर अछाम रहन गयो (शाह, २०६० : १)।

पाँचौ किम्वदन्ती अनुसार डोटी राज्यका विलल्ल भट्‍टको विवाह जुम्लाका सिंजापति महाराजकी छोरी हारमता मैयाँसँग भएर उनबाट देवचन्द्र नामका छोरा जन्मे। सिंजापति महाराजले देवचन्द्रलाई दाइजो स्वरूप नौखुवा राज्य प्रदान गरे।यसरी राजा र ब्राह्मण बिच वैवाहिक सम्बन्ध भई राज्य समेत प्रदान गरिएकोले तत्कालीन समयमा यस घटनालाई अचम्म मानियो र त्यही अचम्मको घटनाबाट बनेको राज्यको नाम कालान्तरमा अछाम रहन गयो (शाह, २०६० : १)।छैटौं किम्वदन्ती अनुसार राजकुमार अक्षय मल्ल ‘नौखुवा’ अछामको विनायकमा केही समय बसेका थिए।

उनी अत्यन्त धर्मात्मा र प्रजावत्सल थिए।आफ्नो वास कालमा उनले अछामका विभिन्न स्थानमा देवल, नाउला (कुवा) र मुङ्ग्रा (धारा) हरू निर्माण गरेका थिए। विनायक पञ्चदेवलमा अहिले पनि अक्षय मल्लको शिलालेख ताजै छ।तिनै प्रतापी राजकुमार अक्षय मल्ल बसेको स्थानको नाम अछाम रहन गयो (सुवेदी, २०५८ : २८)।सातौं किम्वदन्ती अनुसार हालको रामारोसन गाविस वडा नं.९ मा एउटा ‘अगम्मगढ’ नामक रहस्यमय स्थान छ। त्यो जयगढबाट मालिका जाँदा बाटामा पर्दछ। त्यहाँ जङ्‌गलको बिचमा पनि निकै घना जङ्‍गलले घेरिएको एक थुम्को छ।त्यस थुम्कोका फेदको वरिपरि प्राकृतिक भग्नावशेष जस्तो देखिने पर्खाल छ। त्यस पर्खाल भित्र आज सम्म कसैले पनि प्रवेश गरेको छैन किनभने त्यो हेर्दै निकै डरलाग्दो देखिन्छ। जनावरहरू पनि त्यहाँ गए भने फर्किदैनन् भन्ने भनाइ छ।

मालिका पूर्णिमाको मेला लाग्ने समयमा त्यहाँ विभिन्न प्रकारका नरसिंङ्‌गा, शङ्‌ख, घण्ट र दमाहा बजे जस्ता आवाजहरू सुनिन्छन् भन्ने भनाइ छ। मालिका पूर्णिमाको मेला भर्न जाने तिर्थालुहरू त्यही अगम्मगढको बाटो हुँदै जान्छन्। बाटामा हिंडने तिर्थालु र त्यहाँका गोठाला मध्ये जसले त्यस ठाउँमा त्यो आवाज सुन्छ त्यसलाई शुभ हुन्छ भन्ने भनाइ रहेको छ।त्यो आवाज सबैले सुन्न सक्दैनन् सौभाग्यशाली मानिसले मात्र सुन्छ भन्ने भनाइ अहिले पनि रहेको छ।यस्तो अलौंकिक रहस्यमयी स्थान ‘अगम्मगढ’ विस्तारै अपभ्रंश भएर यस जिल्लाको नाम अछाम रहन गयो (शाह, २०६७ : ११-१२)।

तपाईको प्रतिक्रिया