धनगढी:नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटका पक्षमा उभिन प्रदेश सांसदहरूलाई ह्विप जारी गरेको छ । शनिबार माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको हो ।
बैठकमा सहभागी प्रदेश सभा सदस्यहरूले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरू बजेट पारित गर्न सहमत भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताए ।
असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेश सभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटको कार्यक्रम पुस्तिकामा सुधारको माग गर्दै सत्तारुढ दलकै सांसदहरूले प्रदेश सभा चल्न नदिने चेतावनी दिएपछि बैठक बस्न सकेको छैन । अहिलेसम्म बजेट छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक तीन पटक स्थगित भइसकेको छ ।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकार फेरबदलबारे भइरहेको चर्चाका विषयमा समेत कुराकानी भएको थियो । तर गठबन्धनमा रहेका दलको शीर्ष नेतृत्वले टुंग्याउने विषय भन्दै धेरै छलफल नभएको मन्त्री धामीले बताए ।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकार फेरबदलबारे भइरहेको चर्चाका विषयमा समेत कुराकानी भएको थियो । तर गठबन्धनमा रहेका दलको शीर्ष नेतृत्वले टुंग्याउने विषय भन्दै धेरै छलफल नभएको मन्त्री धामीले बताए ।
बागमती प्रदेशमा नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश आफूलाई छाड्नुपर्ने एकीकृत समाजवादी पार्टीले माग राखेको स्रोतको भनाइ छ । यस्तो अवस्थामा यहाँ माओवादी केन्द्रले एकीकृत समाजवादी पार्टीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुनसक्ने चर्चा छ ।










