काठमाडौ :नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच सुगौली सन्धि भएको आज ठ्याक्कै दुई सय पाँच वर्ष पुगेको छ । नेपाललाई मेची र कालीबीच सीमित गर्ने यो संवेदनशील सन्धिको सक्कल प्रति नै नेपालसँग छैन ।
सुगौली सन्धिका आधारमा नेपालले ४० हजार वर्गकिलोमिटर (करिब एकतिहाइ) भूभाग गुमाएको छ । तर, बचेको भूभागमा पनि स्पष्ट सीमांकन नहुँदा नेपाल र भारतबीच सीमा समस्या तरल अवस्थामा छ । एकीकरण गर्दैै फैलिएको गोर्खाली सैनिक र भारतमा उपनिवेश बलियो बनाउँदै लगेको ब्रिटिस सैनिक आमनेसामने भएपछि सुगौली सन्धिको पृष्ठभूमि बनेको थियो ।
खासगरी गोर्खा राज्य विस्तार रोक्न सन् १८१४ नोभेम्बर १ मा बेलायतले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरेको थियो । सीमाविद् श्रेष्ठ भन्छन्, ‘खासगरी बुटवलको पालिही, स्युराज, माझखण्ड, खजहनीमा भारतले दाबी गर्यो । ती भूभाग लखनउको नबाबको भएकाले भारतको पर्छ भन्ने अंग्रेजको दाबी थियो । नेपालको भनाइ त्यो पाल्पाको सेन राजाको हो, सेन राज्य नेपालमा गाभिएपछि त्यो भूभाग स्वतः नेपालको हो भन्ने यताको तर्क थियो । यसैलाई लिएर अंग्रेजले सन् १८१४ मा युद्ध सुरु गर्यो ।’
दुई वर्ष चलेको युद्धपछि अंग्रेजले २ डिसेम्बर १८१५ मा शान्ति तथा मैत्री सन्धिको मस्यौदा पठाएको हो । ‘१५ दिनभित्र सन्धि अनुमोदन गरेर पठाउन भनिएको थियो, तर नेपालले मानेन । काठमाडौंमा भएका तत्कालीन भाइभारदारको बैठकमा मान्नुपर्छ र मान्नुपर्दैन भन्ने दुवै मत रह्यो ।
अन्योलबीच केही समय नेपालले हस्ताक्षर गरेन,’ श्रेष्ठ भन्छन्, ‘तर, अंग्रेजले अब काठमाडौं र पूरै नेपाल नै कब्जा गर्ने प्रचारबाजी गरेपछि बाध्य भएर नेपालले सन्धिमा हस्ताक्षर गरेको हो, राज्यको प्रतिनिधित्व सुगौली पुगेका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले सन्धिमा हस्ताक्षर गरेका हुन् ।’
हाल मकवानपुरको हेटौँडा नगरपालिका– ९ मा रहेको सुगौली भन्ने ठाउँमा सुगौली सन्धिमा नेपालले हस्ताक्षर भएको श्रेष्ठको दाबी छ । ‘भारतको रक्सौलभन्दा उतातिरको सुगौली भन्ने पनि छ, तर मेरो अध्ययनमा मकवानपुरको सुगौलीमा हस्ताक्षर भएको हो । यो सन्धिले नेपालको एकतिहाइ भूभाग गुम्यो, दुई खण्ड बच्यो । सन्धिबाट अंग्रेजलाई फाइदैफाइदा, नेपाललाई घाटैघाटा भयो,’ उनी भन्छन् ।
बेलायतले १८१५ डिसेम्बर २ मा पठाएको सन्धिमा नेपालले ९३औँ दिनमा सन् १८१६ मार्च ४ मा हस्ताक्षर गरेको थियो । सन्धिमा बेलायतका तर्फबाट २ डिसेम्बरमा कर्नेल पेरिस ब्राडसाले हस्ताक्षर गरेका थिए भने नेपाल सरकारका तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए ।
सन्धिमा जम्मा नौवटा धारा छन्, अधिकांश धारा नेपालका लागि अपमानजनक छन् । सन्धिसँगै नेपालले पूर्वमा मेचीदेखि टिस्टासम्म र पश्चिममा महाकालीदेखि सतलजसम्मको जमिन गुमाएको थियो । त्यस्तै, बुटवलबाहेक कोसीदेखि महाकालीसम्मको सम्पूर्ण तराई पनि नेपालले गुमाएको थियो । सन्धिअनुसार पूर्वमा पनि कोसीदेखि मेचीसम्मको तराई नेपालको थियो ।
तर, सन्धिमा हस्ताक्षर भएको नौ महिनापछि नेपालले कोसीदेखि राप्तीसम्म तराईका भूभाग फिर्ता पाएको थियो । ‘अंग्रेजले सुगौली सन्धिबापत नेपालका असन्तुष्ट भाइभारदारका नाममा वार्षिक दुई लाख रुपैयाँ दिने भनेको थियो, त्यो कहिल्यै आएन । तर, सुगौली सन्धि भएको नौ महिनापछि ११ डिसेम्बर १८१६ मा अंग्रेजले राप्तीदेखि कोसीसम्मको भूभाग नेपाललाई फिर्ता दियो । मेरो अध्ययनमा अंग्रेजले दुई लाख रुपैयाँको दिनुभन्दा राप्तीदेखि कोसीसम्मको जमिन दिनु फाइदा ठाने,’ सीमाविद् श्रेष्ठ भन्छन् ।
त्यस्तै, राप्तीदेखि पश्चिमको तराई नेपालले ४४ वर्षपछि पायो । ‘भारतमा उठेको सिपाही विद्रोह साम्य बनाउन सैनिक सहयोग गरेर जंगबहादुरले अंग्रेजलाई सन्तुष्ट बनाए ।
खासमा जंगबहादुरले सुगौली सन्धिमा गुमेका मेचीपूर्व र कालीपश्चिमका सबै भूभाग पनि पाउने अपेक्षा गरेका थिए । टिस्टादेखि सतलजसम्म फिर्ता पाउने आशाविपरीत उनले चार जिल्ला (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मात्रै पाए, तर जंगबहादुर सन्तुष्ट थिएनन्,’ उनी भन्छन् ।
सुगौली सन्धिबाट नेपालले भूमि मात्र गुमाएन, नेपालको स्वाभिमानमाथि पनि सम्झौता भएको छ । सन्धिमा नेपालले युरोप र अमेरिकी व्यक्तिलाई सेवामा राख्न पनि ब्रिटिस इन्डियाको स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ, यसले नेपालको सार्वभौम स्वतन्त्र पहिचान र अधिकारमाथि हस्तक्षेप गरेको छ ।नयाँ पत्रिका डट कममा प्रकाशित केही अंस पूरा समाचार
https://www.nayapatrikadaily.com/news-details/60922/2021-03-04










