काठमाडौं:सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापना गरेपछि नेकपाको दुवै समूह आन्तरिक रणनीति बनाउन जुटेको छ।
प्रचण्ड–माधव समूहको नेकपाले आज संसदीय दलको बैठक बोलाएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने नेतृ पम्फा भुषालले जानकारी दिइन्। बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने उनले बताइन्।
यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा गत पुस ५ गते नै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ। प्रतिनिधि सभा विघटन निर्णय असंवैधानिक ठहर गरेको सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिइसकेको छ।
यसैगरी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन्। प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसलासँगै विकास भएको राजनीतिक घटनाक्रममा नयाँ रणनीति बनाउन ओलीले आफ्नो पक्षका स्थायी समिति सदस्यको बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।