Advertisement
SKIP THIS
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म

काठमाडौँ: नेपाली कांग्रेसको पार्टीको आगामी १४ औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राखेको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यसैगरी कांग्रेसले गाउँ/नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ/नगरपालिका  अधिवेशन असार ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ ।

कांग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधान बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ ।

बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरलैण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरव, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्ग स्थित नेपाली जनसम्पर्क समितिको अवधी समाप्त भएको मितिले आगामी असारभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया