Advertisement
SKIP THIS
प्रधानमन्त्री ओली त्यागी नेता हुन

प्रधानमन्त्री केपी शर्मा ओली त्यागी र देशभक्त नेता हुन । जो उहाँकै कार्यशैली र अकर्मण्यताबाट स्पष्ट हुन्छ ।सत्यवादी सादगी मौसमी नेता हुन । बरु कसैले मौसमी राष्ट्रवादी भन्लान् तर उहाँ त्यस्तो होइन,चुनावताका भारतलाई गाली गरे होलान् । जनताको भोट आफूतिर खिच्न त ओलीले कुनैबेला प्रचण्ड उग्रवामपन्थी भन्थे त तर उनैसंग चुनावी तालमेल देखि पार्टी समेत एकीकरण,अहिले तोडेर फुटाएर घनले टाउकोमा हानेर छाडे । ओलीले प्रचण्डको घोडा चढेर दुई दुई पटक देशको प्रधानमन्त्री हुने अवसर पाए।प्रचण्ड आफूलाई गिरिजाप्रसाद कोइराला पछि आफैं ठूलो राजनीति चतुर्‍याइँ नेता दाबी गर्नेछन् तर ओलीले प्रचण्डलाई थाङ्नोमा सुताइ दिए ।

धेरै चतुर्‍याइँ र अवसरवादले जनताको मतको घोर अपमान भयो । आपसी वैमनस्य र झगडाले देशलाई विदेशीको क्रिडा स्थलमा पुर्‍याउने चेष्टा देखिन्छ । दक्षिणपन्थी र भ्रष्ट तानाशाही निरंकुश प्रतिगामी यथास्थितिवादी अधिनायकवादी शैली स्पष्ट भयो ।आफ्नै नेतृत्वको आफ्नै पार्टीको दुई तिहाइको हुँदा खाँदाको बहुमत भएको संसदको जानीजानी हत्या गर्न पछि पर्नु भएन । जनतामा ताजा जनादेश लिने रे ! चुनाव गर्न १० देखि १५ अर्ब पैसा चाहिन्छ । के यो त्याग होईन ? नेपाली सुखी भएको देश समृद्धि हुने आधार मार्गचित्र पनि स्पष्ट भयो । अब प्रधानमन्त्रीले गर्नुपर्ने केही बाँकी रहेन मात्रै अर्को पटक दुई तीन जनाको स्पष्ट सांसदको बहुमत एक कुनामा स्पष्ट छ ।एमाले फुटाएर बनाएको वामदेवको माले र काङ्ग्रेस फुटाएर देउवाले बनाएको प्रजातान्त्रिक काङ्ग्रेस जस्तैः हविगत हुने निश्चितरूपमा छ ।

आफ्नो जीवन रहेसम्म आफू भोकचल गर्ने, मरिसकेपछि सरकार अर्थात राज्यको नाममा हस्तान्तरण गरिसकेका छन् । उहाँ नि:शन्तान हुनुहुन्छ,उहालाई अरू कोही केही चाहिदै,सत्ता भत्ता,महँगो उपचार बाँस्कोटा रिमाल पौडेल बस्नेत भए हुन्छ?पुग्छ । अहिले उहाँलाई कुनैकुराको कमि छैन हुने कुरै भएन,हिजो सत्तामा नहुँदा पनि राज्यकोषबाट करोडौं रुपैयाँ औषधी खर्च भनेर लिएकै थिए । अहिले जनता कोभिड लगायत तमाम समस्याका कारण भोकभोकै,उपचार नपाएर मरे के भयो र ? बेरोजगार भए खाडी देशमा जान्छन् । कमाउछन पैसा पठाउछन,रेमिटेन्स आउँछ । अहिले राष्ट्रपतिलाई हेलिप्याड बनाए,हेलिकप्टरखरिद गरे रास्ट्रपतिको हेलिकप्टरबाट सवारी गर्ने व्यवस्था बन्दोबस्त मिलाएकै छन् । यस्तो कसले गर्न सक्छ र गर्‍यो र ? भन्न र गर्नमा धेरै फरक हुन्छ ।

प्रधानमन्त्रीले अध्यादेश जस्तो ल्याएपनि कसैसँग किन सोधपुछ गर्नुपर्‍यो के तिनीहरुले राष्ट्रपति बनाइदिए हुन र ?त्यसैले आँखा चिम्लेर जे भनेपनि राष्ट्रपतिले खुरुखुरु मान्नु हुन्छ । उहाँलाई दुई दुई पटक राष्ट्रपति बनाउने पनि ओली नै हुन । ओलीकै निगाहबाट रास्ट्रपति बन्ने ती गोमन साप पाल्नेले मान्छे पनि राष्ट्रपति हुने दाउ खोजेको हुन तर ओलीको अगाडि दाल गलेन निर्थक असफल भए सपेरा नेता । आज पनि ओलीसंग खुचिफुची चिंङ्गठा लगाउने ? तिमीहरूलाई दिनु भन्दा बरू राजै ठीक लौ तिम्रा गणतन्त्र भएर सबैलाई उत्तानो पारिदिनु भयो,प्रधानमन्त्री ओलीले । आजकाल सबै पार्टीका नेताहरू राति सुतेको समयमा पनि बर्बराउन थालेका छन् । सबैको रातको निद्रा हराम,दिनको चयन उडेको छ । पूर्व राजा हौसिएका छन् जनताले राजसंस्था गलत र राजाको गल्ती रहेनछ । देशमा भ्रष्टाचार हत्याहिंसा अराजकता दण्डहीनता कुसंस्कार कुशासनको वास्तविक बीउ अरूनै रहेछन् ।

अर्को पटक पार्टी कुनैपनि कार्यकारी पदमा र जिम्मेवारी नरहने,प्रधानमन्त्रीको लागि पनि दाबी नगर्ने भन्ने सार्वजनिक घोषणा समेत गरेका छन् । यदि प्रधानमन्त्रीले धेरै राम्रो काम गरे रे!किन अर्कोले डाहा गर्नुपर्‍यो ? किन कि उनलाई अर्कोपटक प्रधानमन्त्री हुनु त छैन,पार्टीको अध्यक्ष पनि बन्नु छैन भने पार्टी फुटाउने अध्यादेश किन ल्याउनु पर्‍यो होला ? धन सम्पत्तिको मोह छैन भने भ्रष्ट भ्रष्टाचरीलाई किन संरक्षण गरेका होलान् भन्ने लाग्ने मात्रै हो । अरूले जे भने भनन देश र जनताको पक्षमा अविचलित हुनुहुन्छ त्यसैले महामारीको बेला पनि समय छदैछ संसद विघटन गरेर छोड्नु भयो । तेस्ताको सिको पो गर्ने हो लोकप्रिय हुने भय गर्ने सबै निम्छरो हुन,उहाँकै शब्द सापटी ।

प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा गर्न खोजेको धेरै हो तर शुरुमा स्वास्थ्यले साथ दिएन,पछि आफ्नै पार्टीकाले गर्नदिनुभएन । जहाँसम्म प्रधानमन्त्री बिमारी भएको भएयै, हुनुभयो । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर स्वास्थ्य लाभको गर्नु भयो । अनि निको भैसकेपछि त जुँगा काला हुन थाले रे ! उहाँमा तिमुरे वयस्कको जोस जागर चल्न थाल्यो । यतिबेला सम्म दुई वर्ष त्यतिकै बित्यो । दुई तिहाइको दम्भ,घमण्ड र अहंकार उहाँमा पट्कै थिएन । प्रदेश र स्थानीय संग समन्वय पनि गर्नुसक्नु भएन । संविधानको पूर्ण पालना पनि गरेको देखिएन । यसले गर्दा जनतामा व्यापक असन्तुष्टि र गुनासो बढ्दै जाँदा आन्तरिक रूपमा अर्को गुटले ओलीको यो अकर्मण्यता भ्रष्टहरूलाई काखी च्याप्ने बहानामा तमाम नेता कार्याकर्ताले र जनताले नरूचाइएको मौका छोपी ओलीलाई प्रधानमन्त्री पार्टीको अध्यक्षबाट अपदस्त गर्ने शुभ साइत जुराएका हुन । तर ओलीले निर्मम तरिकाले मुख्यफोड जवाफ दिए जसले देशमा राजनीतिक तरंग उत्पन्न गरिदिएको छ । यसको तुफानको छाल हिसाबकिताब समयावधि भित्र ढिलो चांडो सबैले बुझ्ने नै छन् ।

प्रधानमन्त्री काम नगरेको होईन, गरेको नदेखेको बाहिर आउँन दिएनन् । ओलीको लोकप्रियता ह्वात्तै बढ्ने भयो भनेर डाहा गर्ने लतकाट्नेहरूले जनतालाई नबुझाएको पो हो । नत्र घरघरमा ग्यास पाइप,मनोरेले(मनको लड्डु घ्यू संग खा) पूर्वपश्चिम विद्युतीय रेल मार्ग,मेलम्चीको पानीले काठमाडौंलाई बगाउने,कृष्णप्रसाद भट्टराईले उहिले नै गरेका थिए । किसानले मल पाएनन्, उखु बेचेको पैसा पो पाएनन्,काठमाडौमा हरेक वर्ष त जान पाएका छन् । ३३ किलो हो कि ३३ कु. हो त्यसको पूवाल नै बन्द गरेको बाहिर मिडियामा जनताले थाहा नपाउने गरी बुझो लगाएको छ । यति,4G,Ncell, बुढीगन्डकी,ओम्नि, सेकुरिटी पृन्टिङप्रेस,बालुवाटार जग्गा काण्ड यति ग्रुपलाई पाँच वर्ष सम्झौता नै बाँकी छदैं गोकर्ण रिसोर्टको नामा अगावै सम्झौता गरेका होईन र ? नदेख्ने ?

संसदबाटै नक्शा त जसले पनि छाप्न सक्छ जग्गा नै फिर्ता गर्नेतर्फ लागेको प्रधानमन्त्रीले स्पष्ट भनेकै हो । पछि नेपाली नागरिकको ठूलो जनदबाब,सांसदमा प्रतिनिधित्व गर्ने सबै दलको नागरिक समा देशभक्त नेपाली जनताको ठूलो दबाब पछि बाध्य भएर नचाहदा नचाहदै उनलाई रिसानी गरेर संविधान संशोधन गरेको पनि नदेख्ने ? प्रचण्डलाई पाँच वर्ष सम्म प्रधानमन्त्री हुन नदिने,उनलाई दोस्रो दर्जाको नामको कार्यकारी अध्यक्ष बनाउने निर्णय गर्न नमान्ने,सुर्य थापा,रिमाल, बाँस्कोटा,बस्नेतलाई स्पष्ट थाहा छ । बाहिर पो देखिएन ।

त्यतिबेलाको समयमा एमाले र माओवादी एकीकरण हुँदा खुसुक्कै प्रचण्डसंग अढाई अढाई वर्ष आलोपालो प्रधानमन्त्री हुने गोप्य सम्झौता गर्नुभएको रहेछ । जब सत्तामा चढ्नु भयो लोभ लाग्दै गयो,षड्यन्त्रको तानामानामा प्रचण्ड एवं नेपाललाई सुताइ दिनुभयो । सत्ताको स्वाद नखाएकालाई के थाहा ? खाएका पाएकालाई मात्रै थाहा हुन्छ । जो अहिलेको हकमा प्रधानमन्त्री ओली मन्त्री आसेपासे हुक्के सुसारेहरूलाई मात्रै थाहा छ । सत्तामा नहुँदाको पिडा छट्पटी पानी बिनाको माछा जस्तो हुनुपर्दो रहेछ कि प्रतिपक्ष काङ्ग्रेसलाई थाहा छ कि प्रचण्ड,माधवकुमार नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई,वामदेव गौतम,उपेन्द्र यादव,राजेन्द्र महत्तोलाई थाहा छ । अझै त्यो भन्दा बढी पीडा गोकुल बाँस्कोटा, शेर बहादुर तामाङ, लालबाबु,गोकर्ण,योगेश भट्टराई, घनश्याम भुसाल जस्तालाई सत्ता कस्तो हुन्छ भन्ने स्पष्ट थाहा छ ।

प्रधानमन्त्री ओलीलाई ऐतिहासिक अवसर राजनेता हुने नेपाली जनताले घरमा उहाँको तस्बिर राखेर पूजागर्ने अवसर चुकाउनु भएको,त्यो महत्त्वपूर्ण समय खेर फालेको स्पष्ट देखिन्छ । निष्ठ्पुर्वक इमानदार दृढतापुर्वक जनताको पक्षमा अविछिन्न अविचलित भएर देश र जनताको पक्षमा चट्टान झै उभिएको भए जनताले ओलीको जयजयकार गर्ने थिए । सुशासन विधिको शासन कानूनी राज्य,संविधान प्रदत्त हक अधिकारलाई तिक्तता रिक्तता संविधानलाई कुल्चने,अपराधी भ्रष्टहरूको चंगुलमा नराम्ररी फस्नु भयो ।

प्रधानमन्त्री ओलीको पक्षमा तीन करोड नेपाली जनताको साथ र समर्थ थियोे,हुँदा पनि विडम्बनापूर्ण मान्नुपर्छ उहाँ पार्टीका नेताकार्यकर्ताको चित्त समेत बुझाउन सक्नु भएन सानो घेराभित्र बस्न रमाउनु भयो । जनताको मतको दम्भ देखाउने अक्षम्य काम गर्ने, निहित स्वार्थमा भुल्नु भयो । जनताको अपार साथ समर्थ हुँदाहुँदै पनि षड्यन्त्र जालझेल गुटबन्दीको शिकार बन्नुपर्ने दु:खद पक्ष मान्नुपर्छ । दुनियाँलाई गाईजात्रा देखाउनु भयो भने जनतालाई निराश पार्नु भयो । सधैं एकपछि अर्को विवाद विवादित काम गर्दै जानुभयो । उदाहरणीय काम गर्नुभयो यो जनताले र इतिहासले पछि मूल्यांकन गर्ने नै छ । उहाँ भन्दा पहिलाका प्रधानमन्त्री भन्दा पुरानो संविधान व्यवस्था भन्दा कुन मानेमा उपलब्धिमुलक सार्थक फरक भयो र ? उही२०४७ सालको संविधान र ०५१ तिर फर्कनु भयो । संविधानसभाले बनाएको नेपालको संविधान कुल्चिनु भयो ।
भरत बहादुर बिष्ट
टीकापुर१, कैलाली ।

तपाईको प्रतिक्रिया