काठमाडौं :अन्नतः उखु किसानको आ’न्दोलन तत्कालका लागि स्थगित भएको छ ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको छलफलले चारबुँदे सहमति गरेपछि आन्दोलन तत्कालका लागि रोकिएको हो ।
सहमतिअनुसार किसानको भुक्तानी नदिने उखु मिल मालिकको सम्पत्ति रोक्का हुने भएको छ । यस्तै, मिल सञ्चालकले कुनै यात्रा गर्न पाउने छैनन् भने सञ्चालकले कुनै आर्थिक तथा बैंकिङ कारोबार गर्न पाउने छैनन् ।
मन्त्रालयले कृषकलाई रकम दिलाउने जिम्मेवारी लिएपछि किसान आश्वस्त भएका हुन् ।
२१ दिनभित्र मिल मालिकले भुक्तानी नदिए मन्त्रालयले मिलको सम्पत्ति बेचेर किसानको बक्यौता तिरिदिने जिम्मा लिएको हो ।
महालक्ष्मी, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी तथा वाग्मती सुगर मिलले छ वर्षसम्मको किसानको बक्यौता तिरेका छैनन् ।
यस्तै, उखु किसानको अन्य समस्या समाधान गर्न एक संयुक्त प्राविधिक समिति गठन हुने भएको छ ।
यस्तै, सर्लाहीको जिल्ला प्रशासन कार्यालयले तौल काँटाको निर्णय तत्काल फिर्ता लिने सहमति भएको छ । प्रशासनले उद्योगको १० किलोमिटर वरिपरिको उखु सोही मिलले मात्र किन्न पाउने व्यवस्था गरेको थियो । यससँगै किसानले आफूलाई मन लागेको मिलमा उखु बेच्न पाउनेछन् ।