Advertisement
SKIP THIS
कोरोनाले कतारमा एक सातामा तीन नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) का कारण यो साता कतारमा थप तीन जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार कतारमा कार्यरत तीन जना नेपालीको निधन भएको हो । योसँगै कोरोनाका कारण विदेशी भूमिमा एक सय ३० नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत साता संक्रमणका कारण नेपालीको मृत्यु नभए पनि यो साता वैदेशिक रोजगारीमा गएका तीन नेपालीको कोरोनाका कारण ज्यान गएको हो । यो साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । हालसम्म विभिन्न ३५ देशमा बस्नेत १७ हजार ७ सय ९२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यो साता विदेशमा १० हजारभन्दा बढी नेपाली कोरोना जितेर घर फर्किएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएको संघले जनाएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । विभिन्न देशमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल पछिल्लो एक हप्तायता ल्याइएको हो।

संघका अनुसार कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । लडाउनको समयमा निधन भएका तीन सय जनाका एक सय १४ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । एक सय ६४ शव गन्तव्य देशमै रोकिएका छन् ।

वैदेशिक रोजगार बोर्डले पछिल्लो समयमा शव ल्याउन भन्दा गन्तव्य देशमै दाहसंस्कार गर्न प्रेरित गरिरहेको छ । अनुसन्धानकर्ता रामेश्वर नेपालले शव उतै व्यवस्थापन गर्न परम्परा, सांस्कृतिक र धर्मले नमान्ने बताए । ‘गन्तव्य देशमै अन्त्येस्टी गर्न परिवारलाई दवाव दिनुहुन्न’ उनले भने ।

तीन हजार नेपाल स्वदेश फर्किए

यसैबीच गैरआवासीय नेपाली संघको पहिलमा विदेशमा अलपत्र ३ हजार एक सय आठ जना नेपाली स्वदेश फर्र्किएका छन् । सरकारले साउन ३२ देखि नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्ससहित विदेशी एयरलाइन्सबाट विदेशी भूमिमा समस्यामा परेका नेपालीलाई फर्काउन सुरु गरेसँगै उक्त मात्रामा कामदार फर्केका हुन् ।

संघका अनुसार मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्वार गरिएको छ । बंगलादेशबाट २५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।

तपाईको प्रतिक्रिया