Advertisement
SKIP THIS
सरुवा भइ आएका ३ प्रहरीमा कोरोना संक्रमण

भोजपुर : विराटनगरबाट सरुवा भइ आएका ३ जना प्रहरीमा कोरोना संक्रमण भेटिएको छ। अरुण गाउँपालिका ६, जरायोटारस्थित होल्डिङ एरियामा रहेका ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित तीनैजना प्रहरी गत भदौ २ गते विराटनगरको पूर्वी क्षेत्रीय तालिम केन्द्र रानीबाट सरुवा भइ भोजपुर आएका थिए। जसमध्ये सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष रहेका छन्। संक्रमित सहित गत भदौ ३ गते होल्डिङ एरियामा रहेका अन्य २९ जनाको पीसीआर परीक्षण गरिएकोमा संक्रमित प्रहरीबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

संक्रमितलाई जिल्लामै राखिने

संक्रमित प्रहरीको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुलाई उपचारका लागि अन्यत्र नपठाउने प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलका अनुसार छिमेकी जिल्लाहरुमा संक्रमणको दर उच्च रहेकाले कोरोना विशेष अस्पतालले लक्षणबिना संक्रमितलाई भर्ना नलिने भएकाले संक्रमितलाई भोजपुर नगरपालिका १२, टक्सारस्थित पर्यटकीय सुचना केन्द्रको भवनमा राखिने तयारी भैरहेको छ।

संक्रमित देखिए पनि यसले भोजपुरलाई असर नपर्ने प्रशासनले जनाएको छ। जिल्ला प्रवेश पूर्व नै कोरोना चेक भएकाले र संक्रमित व्यक्ति अरु मानिससँग हेलमेल नभएकाले उनीहरुबाट अन्यमा संक्रमण सर्न नपाएका कारण प्रहरीमा कोरोना पुष्टि भए पनि डराउन तथा त्रसित हुनुपर्ने अवस्था नरहेको सहायक प्रजिअ लुइँटेलले बताए।

लुइँटेलले पछिल्लो समय छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दिनानुदिन बढिरहेकोले जिल्लाबासीहरुले संक्रमणबाट बच्न अपनाउनुपर्ने सामान्य माक्स, सामाजिक दुरी लगायत प्रशासनले तोकेका आवश्यक मापदण्डलाई पालना गरी संक्रमण रोकथाममा सहयोग पुर्याउन आवश्यक रहेको जानकारी गराए।
यसअघि भोजपुरको हतुवागढी गाउँपालिका १, होम्ताङका एक जना होल्डिङ एरियामा नै रहेका षडानन्द नगरपालिका ८ र १२ का गरी ५ जनामा संक्रमण पुष्टि भएकोमा उनीहरु सबै निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया