Advertisement
SKIP THIS
आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। ज्वरो आउने, खोकी लाग्ने र छात्ती दुख्ने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै ५० वर्षीय दीपक शेर्पालाई बिहीबार राति अस्पतालकै आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आइसोलेसनमै शुक्रबार बिहान मृत्यु भएको हो।

धनकुटाको भीरगाउँ घर बताउने शेर्पा मोरङको पथरीशनिश्चरेमा ज्यालामजदुरी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा छटपटाइरहेको बेला उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि कोशी अस्पताल ल्याएको थियो। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले खुट्टामा समस्या रहेको र ज्वरो आउने गरेको बताएका पुरुषलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल लगिएको बताए।

प्रहरीले उद्धार गर्ने क्रममा आफ्नो नाम बताए पनि स्पष्ट ठेगाना भन्न नपाउँदै शेर्पालाई बिरामले च्यापेको थियो। तर अस्पतालमा कोरोनाको आशंका गर्दै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका उनको मृत्यु भएको हो। उनको मृत्युपछि स्वाब संकलन गरेर कोशीकै प्रयोगशालामा पीसीआर परीक्षण गरिए पनि रिपोर्ट शुक्रबार साँझ नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए।

रिपोर्ट नेगेटिभ आएपछि शवलाई कोशी अस्पतालकै शव गृहमा राखिएको छ। कोरोना रिपोर्ट नेगेटिभ आएका उनको मृत्यु के कारणले भएको हो भन्ने यकिन हुन नसकेको र कोरोनाको तनावले त्यसतर्फ ध्यान पनि दिन नपाइएको डा. दासले बताए। पथरीशनिश्चरेमा बेवारिसे अवस्थामा भेटेर प्रहरीले उपचारका लागि ल्याएका पुरुषको मृत्यु भइ सक्दा पनि कोही आफन्त र परिवारका सदस्य सम्पर्कमा आएका छैनन्। अस्पताल र प्रहरीले मृतकले दिएको ठेगानाका आधारमा आफन्त एवं परिवारका सदस्यको खोजी गरिरहेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले शव जिम्मा लिने गरी कोही पनि सम्पर्कमा नआएमा विराटनगर महानगरपालिकासँग समन्वय गर्दै बेवारिसे बनाएर व्यवस्थापन गर्नुको विकल्प नहुने बताए। ‘शव जिम्मा लगाउन परिवारका सदस्य र आफन्त कोही छन् कि भनेर खोजी गरिरहेका छौं’, उनले भने, ‘तर कोही पनि सम्पर्कमा नआएमा त्यत्तिकै शव गृहमा लास राखिरहने कुरा हुँदैन।’ कोरोना रिपोर्ट नेगेटिभ आएका कारण जिम्मा लिएर लग्दै शवको दाहसंस्कार गर्न केही समस्या नहुने राईको भनाइ छ।

तपाईको प्रतिक्रिया