धनगढी राजनीतिक नियुक्तिको विषयमा भएको विवाद नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म पुगेको छ ।
संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अस्पताल व्यवस्थापन समिति लगायतको नियुक्ति गर्दा परामर्श नगरी एकलौटी गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी केन्द्रको ध्यानाकर्षण गराएको छ ।‘सरकारका विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्दा उहाँले पार्टी कमिटीमा कुनै परामर्श गर्नुभएको छैन । आफूखुसी सिफारिस गर्ने काम गर्नुभएको छ,’ एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘हामीले यिनै विषयमा लेखेर पार्टी केन्द्रलाई पठाएका छौँ ।’
पूर्वमुख्यमन्त्री रावल पार्टीको सम्पर्कमा नै नरहने गरेको आरोप लगाइएको छ । उनी सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले आइतबार संसदीय दलको कार्यालयमै तालाबन्दी गरेको छ ।तालाबन्दी गर्ने युवाहरुले रावलले राजनीतिक नियुक्तिमा एकलौटी गरेको, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने व्यक्तिलाई नियुक्ति दिलाएको, पटक–पटक प्रयास गर्दा पनि सम्पर्कमा नआउने गरेका जस्ता आरोप लगाएको छ ।









