Advertisement
SKIP THIS
प्राथमिक अस्पतालका न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बझाङ देशकै पहिलो

बझाङ:बझाङ जिल्ला अस्पताल देशभर रहेका प्राथमिक अस्पतालहरू मध्ये न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी नम्बर ल्याउने अस्पताल भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड मुल्यांकनका आधारमा बझाङ जिल्ला अस्पतालले सबैभन्दा बढी नम्बर ल्याउन सफल भएको जिल्ला अस्पताल बझाङका प्रमुख नवराज जोशीले बताए।

१५ शय्याको जिल्ला अस्पताल बझाङले ९४ प्रतिशत नम्बर ल्याइ देशभरीका प्राथमिक अस्पतालहरूमा सबैभन्दा बढी नम्बर ल्याउने अस्पताल बनेको हो। अस्पतालले गत वर्ष न्यूनतम सेवा मापदण्ड मापनमा ९३ प्रतिशत ल्याउन सफल भएको थियो।

अस्पतालको व्यवस्थापन, क्लिनिक सेवा र सहयोगात्मक सेवा अन्तर्गत हुने मूल्याङ्कनमा एउटा नमुना अस्पतालको रूपमा उभिन सफल भएकोमा व्यवस्थापन समिति, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको महत्वपुर्ण भूमिका रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिंहले बताए।

अझै पनि आफ्नो कार्यकालमा धेरै काम गर्ने सोच बनाएको भएपनि नसकेको बताउदै जिल्ला अस्पतालको लागी राजनीतिक दल, पालिकाहरूले पनि साथ सहयोग दिनुपर्ने उनको भनाइ थियो ।

नागरिकलाई स्वस्थ राख्नु स्थानीय सरकारको दायित्व भएकाले अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउँदै लैजानु पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले धारण राखे।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नबराज जोशीले सेवाको विस्तार तथा गुणस्तरीयताका कारण सेवाग्राहीको सङ्ख्या बढ्दो रहेको भन्दै गत आर्थिक वर्षमा ३९ हजार १ सय ९८ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्षको माघ मसान्त सम्म २१ हजार ८ सय ५ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए।

हाल विभिन्न सेवा विस्तार गर्दै जाँदा जिल्ला अस्पतालमा शल्यक्रिया गर्नेको संख्या बनि बढेको तथ्याङ्कले देखाएको छ। गत वर्ष ७९/८० मा ७ सय ८० जनाले विभिन्न अप्रेसन गरेकोमा २०८० / ८१ मा १३ सय ८५ जनाले शल्यक्रिया गरेको छ।

हाल जिल्ला अस्पताल बझाङमा ३ जना विशेषज्ञ डाक्टर सहित ११० जना कर्मचारी रहेका छन्।

तपाईको प्रतिक्रिया