Advertisement
SKIP THIS
मदन पुरस्कार विजेता ऐंठन उपन्यासका लेखक ओझालाई गृहनगरमा सम्मान

टीकापुर :मदन पुरस्कार विजेता ऐंठन उपन्यासका लेखक विवेक ओझाले मदन पुरस्कारले आफूलाई पूणर्कालीन लेखक बन्नका लागि मार्ग प्रशस्त गरेको बताएका छन् ।

ओझाको गृहनगर टीकापुरमा डल्फिन मिडिया प्रा.लि.(हाम्रोपत्र डटकम) द्धारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओझाले सो कुरा बताएका हुन् ।

‘नेपालमा लेखेरै जीवन निर्वाह गर्न कठिन भइरहेको अवस्थामा ऐंठनले पाठकबाट प्रशस्त माया, स्नेह पाएको छ’ ओझाले भने ‘मदन पुरस्कार प्राप्त गरिसकेपछि मलाई पूणर्कालीन लेखक नै बन्नका लागि जिम्मेवारी बोध भएको छ ।’

कार्यक्रममा बोल्दै ओझाले नेपालमा भएको परिवर्तन द्वन्द्वले गरेको हो भनिरहँदा द्वन्द्वबाट प्रभावितहरुको पक्षबाट सोच्नुपर्ने बताए ।

‘राज्य पक्ष होस् वा विद्रोही पक्षले नेपालमा भएको द्वन्द्वबाट प्रभावित भएका आम नागरिकहरुका बारेमा सोच्नुपर्ने बेला हो’ ओझाले भने ‘द्वन्द्वले कुनै पनि पक्षसँग सम्बन्ध नभएका प्रभावित नागरिकका पक्षबाट सोच्नुपर्दछ भन्ने धारणा उपन्यासले लिएको छ ।’

गृहनगरमा सम्मानित हुँदा खुशी व्यक्त गर्दै ओझाले भने ‘टीकापुरको माटो, हावा, पानी, वातावरण, जसले मलाई हुर्कायो, बढायो, लेख्न प्रेरित गर्यो, सबै सबैलाई नमन गर्न चाहन्छु । यही माटोमै गरिएको सम्मानले मन भावुक भएको छु ।’

मिडिया प्रा.लि.का अध्यक्ष टोपप्रकाश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा ओझालाई सम्मान पत्र, दोसल्लासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं हाम्रोपत्रका प्रधान सम्पादक योगेश रावलले ऐंठन सशस्त्र द्वन्द्वको एउटा दस्तावेज भएको बताए । ‘द्वन्द्वले अनाहक पीडा पाएका नागरिकहरुका बारेमा बोलेको छ, ऐंठन द्वन्द्वका बारेमा लेखिएको सशक्त कृति हो’ रावलले भने ।

यसअघि टीकापुर उद्योग वाणिज्य संघले समेत लेखक ओझालाई गृहनगरमा सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया