Advertisement
SKIP THIS
कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं :नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । लगातार चौथो जितका साथ समूह ए बाट नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । ओपनर सीता रानामगर २३ बलमा १७ रनमा नटआउट रहिन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाउन सकेको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् । तर त्यो रन नेपाललाई हराउन पर्याप्त थिएन ।

१७ औं ओभरमा मध्य तीव्र गतिकी बलर इन्दु बर्माले तीन विकेट लिँदै कतारलाई थप धरासयी बनाएकी थिइन् । इन्दुले तेस्रो बलमा साची, पाँचौं बलमा ट्रप्टी काले र अन्तिम बलमा श्रुतिबेन कमलेशभाइ रानालाई आउट गरेकी थिइन् । कतारकी ओपनर एलिना खान २५ बलमा १ चौकासहित १५ रनमा इन्दु बर्माबाट रन आउट भइन् ।

ओपनर खदिजा अहमद ४ बलमा १ चौकासहित ४ रन बनाउँदै पुजा महतोको बलमा एलबीडब्लू आउट हुन पुगेकी थिइन् । एन्जिलेने मारे १८ बलमा २ चौकासहित १४ रनमा नट आउट रहिन् । इन्दु बर्माले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । पुजा महतो र कजिता जोशीको नाममा समान एक विकेट रह्यो ।

तपाईको प्रतिक्रिया