Advertisement
SKIP THIS
सन्दीप लामिछानेको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी प्रिमियरको समुह बिजेता

काठमाडौं :स्पिनर सन्दीप लामिछानेको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारका जाहिर इब्राहिम र खुराम शाहजादले सर्वाधिक १५ रन बनाए । ओपनर कमरान खान ८ रनमा क्याच आउट भए । स्पिनर ललितनारायण राजवंशीको तेस्रो ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।

कतारका प्रमुख ब्याटर इमाल लियानागेलाई सोमपाल कामीले छैटौं ओभरको अन्तिम बलमा ६ रनमा बोल्ड आउट गरे । सन्दीप लामिछानेले ओपनर जाहिर इब्राहिमलाई फस्ट स्लिपमा आरिफ शेखबाट १५ रनमा क्याच गराए ।

उनले २३ बलमा ३ चौका प्रहार गरे । सोमपाल कामीले मोहम्मद तनविरलाई शून्यमा बोल्ड गरेपछि कतार ९.४ ओभरमा ३२-४ को कमजोर अवस्थामा पुगेको थियो । सोमपाल कामीको १२ औं ओभरको अन्तिम बलमा इक्रामउल्लाह खान पाँच रनमा भीम सार्कीले स्क्वायर लेगमा सानदार क्याच लिएपछि कुवेत ३७-५ को अवस्थामा पुगेको थियो ।

सन्दीपको १३ औं ओभरको चौथो बलमा कप्तान मोहम्मद रिजलान आसिफ शेखबाट स्टम्पिङ आउट भएपछि संकटमा पुगेको छ । त्यसपछिका ब्याटरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । आमिर फारुक १४ र वलिद ३ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनससहित २४ रन खर्चेर ३ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहेका थिए । एक समय २८ ओभरमा १११-९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए ।

आमिर फारुकको बलमा ललित एलबीडब्लू आउट भएपछि नेपाल अल आउट भएको थियो । ललितले १७ बल खेल्दा एक रन बनाए । सन्दीपपछि रोहित पौडेलले ३६ बलमा २ चौकासहित २७ रन बनाएका थिए । आसिफ शेख २७ बलमा २ चौकासहित १९ रनमा आउट भए । नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो ।

तीव्र गतिका बलर गयान मुनाविराको दोस्रो ओभरको दोस्रो बलमा कुशल शट लेगमा खुराम शाहजादबाट क्याच आउट भएका थिए । मुनाविराको चौथो ओभरको तेस्रो बलमा स्वीप खेल्ने धुनमा एज लागेर भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच हुँदै पेभेलिएन फर्केका थिए ।

नेपालले आसिफ आउट भएपछि आश्चर्य रुपमा सोमपाललाई ब्याटिङमा पठाएको थियो । कप्तान रोहित पौडेल कट बिहाइन्ड हुँदै पेभेलिएन फर्किए । स्पिनर क्वाइस अहमदको १६ औं ओभरको तेस्रो बलमा रोहित कट खेल्ने धुनमा विकेटकिपरबाट क्याच आउट भएका थिए ।

यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ । कुशल स्पिनर क्वाइस अहमदको १८ औं ओभरको पहिलो बलमा ३ रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।

सोमपाल कामी ११ रनमा क्याच आउट भए । सोमपाल आउट हुँदा नेपाल २१ ओभरमा ८४–६ को दयनीय अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र आरिफले १८ रनको साझेदोरी गरेका थिए । आमिर फारुकको २७ औं ओभरको दोस्रो बलमा आरिफ शेख थर्डमा खुरामबाट ११ रनमा क्याच आउट भएपछि नेपाल १०२–७ को दयनीय अवस्थामा पुगेको थियो ।

आमिरकै बलमा दीपेन्द्र टप एज लागेर १२ रनमा क्याच आउट भए । गुलशन झा ७ रनमा क्याच आउट भए । स्पिनर क्वाइस अहमदको बलमा ठूलो सट खेलेका गुलशन लङअनमा मुनाविराबाट विश्वस्तरीय क्याच आउट भएका थिए । उत्कृष्ट क्याच लिनेक्रममा उनले छक्का बचाउँदै बाहिर बल फालेर आफैं क्याच लिएका थिए ।

कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गयान मुनाविराले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । इक्रामउल्लाह खानले १० ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

नेपालले सेमिफाइनल खेलमा समूह बी को उपविजेतासँग खेल्नेछ । नेपाल ४ खेलमा ३ मा जित र १ मा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । हङकङ र कुवेतबीचकोा खेल मुलपानी क्रिकेट मैदानमा जारी छ ।

उक्त खेलको नतिजापछि समूह बी को विजेता र उपविजेता निर्धारण हुनेछ । सेमिफाइनल शनिबार र फाइनल सोमबार हुनेछ । उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

तपाईको प्रतिक्रिया