Advertisement
SKIP THIS
नेपालले मलेसियालाई सहजै जित्यो

काठमाडौं :एसीसी प्रिमियर कपअन्तर्गतको पहिलो म्याचमा नेपालले मलेसियाविरुद्ध सहज जित हासिल गरेको छ । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १३.४ ओभरको खेल बाँकी छँदै भेट्टायो । सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालका लागि भिम सार्की र कुशल मल्लले अर्धशतक बनाएका थिए । उनीहरुबीच शतकीय साझेदारी भएपछि मलेसिया खेलमा फर्किन सकेन ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा २ सय ३७ रन बनाउँदै सहज जित निकाल्यो । नेपालका जितमा तेस्रो नम्बरमा क्रिजमा आएका भीम सार्की र कुशल मल्लले शतकीय साझेदारी गरे । कुशल मल्लले चौथो विकेटका लागि भिमसँग १ सय १२ रनको साझेदारी गर्दै ७० रनको अजिजित इनिङ खेले । उनले ४० बल खेल्दै समान ५ चौका र छक्का प्रहार गरे ।

भीम ९८ बल खेल्दै ५ चौकाको मद्दतमा सर्वाधिक ७१ रन बनाएर पभेलियन फर्किएका थिए । ओपनर कुशल भुर्तेल ३१ बलमा ५ चौका र दुई छक्कासहित ३८ रनमा आउट हुँदा कप्तान रोहितले ४३ बलमा ५ चौकाको मद्दतमा ४२ रन जोडे । मलेसियको बलिङमा मोहमद वाफिक, रिजवान हाइडेर, विरन्दीप सिंह र विजय उनीले समान एक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि कप्तान फैजले सर्वाधिक ७६ रन जोडे । उनले आउट हुनुअघि ओपनर विरन्दीपसँग १ सय १६ रनको साझेदारी गर्दै ९५ बल खेलेर ८ चौका र १ छक्का प्रहार गरे । विरन्दीप ९४ बल खेल्दै २ चौकाको मद्दतमा ४६ रन बनाएर आउट भए ।

ओपनर मोहमद अमिर १८ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडेर पभेलियन फर्किएका थिए । सायद अजिज १३ रन बनाएर सोमपाल कामीको बलमा क्याच आउट हुँदा खिजार हायात २२ रनमा आउट भए । नेपालको बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४८ रन खर्चिए । भने, सोमपालले आफ्नो स्पेलको ९ ओभर फाल्दै ४० रन खर्चिए । यस्तै, ललीत राजवंशीले दुई विकेट लिँदा गुलसन झाले एक विकेट लिए ।

वैशाख १८ गतेसम्म चल्ने प्रतियोगिताको समूह ए मा रहेको नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । प्रतियोगिताको समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टीमले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपालले दोस्रो खेल ८ गते ओमानसँग खेल्नेछ । तेस्रो खेल साउदी अरबसँग वैशाख ११ मा खेल्नेछ । जुन नेपालले मुलपानी मैदानमा खेल्ने एकमात्रै खेल हो । भने, अन्तिम खेलमा नेपालले कतारको सामना गर्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल वैशाख १६ गते हुनेछ भने, फाइनल १८ गते हुनेछ ।

प्रतियोगिताको शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् । मुलपानी मैदानमा सम्पन्न समूह बी को खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै हङकङले विजयी सुरुआत गरेको छ । जारि अर्को खेलमा सिंगापुरले हङकङलाई ४२.१ ओभरमा अलआउट हुँदै १ सय ७५ रनको लक्ष्य दिएको छ ।

तपाईको प्रतिक्रिया