एजन्सी:भारतीय डाक्टरको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिरामीको अप्रेसनका लागि अस्पताल जाँदै गर्दा जाममा परेपछि गाडी सडकमै छाडेर डाक्टर गोविन्द नन्दकुमार दौडिनुभएको हो ।
ग्यास्ट्रोएन्टरोजोली सर्जन डाक्टर नन्दकुमार बैंग्लोरको मणिपाल अस्पतालका काम गर्नुहुन्छ ।
३० अगष्टका दिन उहाँ घरबाट अस्पताल जान भनेर निस्कनुभयो । अस्पतालमा एक बिरामीको पित्तथैलीको अप्रेसन गर्नुपर्ने थियो । बाटोमा भीषण पानी परेपछि सडक जलमग्न भयो । यसै कारण डा.नन्दकुमार सरजापुर–मराठाहल्ली क्षेत्रमा पुग्दा जाममा फस्नुभयो।
जाम खुल्ने कुनै संकेत देखिएन । अस्पतालबाट फोन आएको आयै थियो । डा.नन्दकुमारले जाम खुल्ने प्रतिक्षा गर्न सक्नुभएन।
अस्पताल पुग्न ३ किलोमिटर बाँकी थियो । गाडी जाममै छाडेर दौडिन थाल्नुभयो। अस्पताल पुग्न ४५ मिनेट लाग्यो ।
समयमै पुगेर उहाँले बिरामीको सफल अप्रेसन गर्नुभयो ।
आफू सधैँ बैंग्लोरको मध्यभागबाट बैंग्लोरको दक्षिण–पूर्वी क्षेत्रमा रहेको मणिपाल अस्पताल जाने गरेको डा.नन्दकुमार सुनाउनुहुन्छ । ‘म समयै निस्किएको थिएँ । अप्रेसनका लागि मेरा सबै टिम तयारी अवस्थामा थियो । थप सोच्न नलागीकन गाडी छाडेर हिड्न थालेँ।’
खाना समेत खान नदिएर अप्रेसनको तयारीमा राखिएका बिरामीलाई थप कुराउने पक्षमा नभएकाले यस्तो निर्णय लिएको डा.नन्दकुमार बताउनुहुन्छ।
१८ वर्षदेखि ग्यास्ट्रोएन्टरोजोलीको रुपमका कार्यरत डा.नन्दकुमारले १ हजार भन्दा बढी बिरामीको सफल अप्रेसन गरिसकेको भारतीय मिडियाले जानकारी दिएका छन् ।
उहाँले आफू दौडिएको छोटो भिडियो क्लिपमा साथमा त्यो दिन भएको घटनाबारे जानकारी दिँदै एक भिडियो सामाजिक सञ्जालमा सेयर गर्नुभएको थियो ।
उक्त भिडियो भाइरल भएपछि डा.नन्दकुमार चर्चामा हुनुहुन्छ ।