Advertisement
SKIP THIS
चुनाव लड्न पैसा नभएको भन्दै सिफारिस नगर्न  माओवादी जिल्ला इञ्चार्जको आग्रह

बुटवलः माओवादी केन्द्र कपिलवस्तुका इञ्चार्ज कमल चुदाली पौडेलले आफूलाई उम्मेदवार सिफारिस नगर्न पार्टी नेताहरुलाई आग्रह गरेका छन्। निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै उनले उम्मेदवार भएर खर्च गर्ने आर्थिक सामथ्र्य आफूसँग नभएकाले प्रत्यक्ष र समानुपातिक कतै पनि सिफारिस नगर्न उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आग्रह गरेका हुन्।

कपिलवस्तु क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रस्ताव भएका उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। उनले खर्चिलो निर्वाचन प्रणालीमा परिवर्तन नभएसम्म आफू उम्मेदवार नहुने समेत बताएका छन्। ‘यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउञ्जेल चुनाव मेरो लागि असम्भव छ, सरी,’ उनले लेखेका छन्, ‘विशुद्ध राजनीति मात्रै गर्नेले अब चुनाव जित्न सक्दैनन्, जसले करोड वा लाखौं खर्च गर्नसक्छ उनैले जित्छन्।’

चुदालीले अबका चुनाव ठेकेदार वा उनीहरुको नियन्त्रणमा रहेका नेताले मात्रै जित्ने अवस्था रहेको बताए। समानुपातिक उम्मेदवार चयन पनि समानुपातिकको मर्म र भावना विपरीत धनाढ्य, पहुँचवाला र नेताका निकटहरु प्राथमिकतामा पर्ने परिपाटी रहेकाले यसलाई पनि परिमार्जन गर्नुपर्ने उनले बताए।

प्रमुख दलहरुले अर्को चुनावसम्म निर्वाचन प्रणालीमा सुधार नगरेर यही प्रणाली रहे दलहरुप्रति वितृष्णा बढ्ने र स्वतन्त्रहरुको वाहुल्यता हुने उनको आकलन छ।

तपाईको प्रतिक्रिया