अछाम:भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।