Advertisement
SKIP THIS
जब गर्भ रहेको थाहै नभई बच्चा जन्मियो

पुर्ण बहादुर खड्का अछाम- सामान्यतया बच्चा जन्मन ९ महिना गर्भमा रहनुपर्छ र बच्चा जन्मिदै छ थाहा हुन्छ। तर अछामको बयालपाटा अस्पतालमा पेट दुखाइको उपचार गर्न भनेर आएकी एक महिलाले बच्चा जन्माएकी छन्। बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ की २८ वर्षीया करिश्मा सुनार पेट दुख्यो भनेर उपचार गर्न बयालपाटा अस्पताल आएकी थिइन्। तर उनले अस्पताल पुगेको केही समयमै बच्चा जन्माएकी छिन्। 

करिश्मा सुनारको शुक्रबार राती एक्कासी पेट दुखेपछि उनलाई शनिबार बिहान बयालपाटा अस्पताल ल्याइएको थियो। पेट दुख्यो भनेर उपचार गर्न आएकी करिश्माको अस्पतालमा चेकजाँच गर्दा गर्भवती भएको थाह भएपछि उनी स्वयमं आर्चय चकित भइन्। 

‘म गएको जेठ महिनादेखि नै नियमित महिनावारी हुन्थे, महिना, महिना ब्लड भइराख्ने हुनाले आफूलाई गर्भवती छु भन्ने नै थाह भएन’ उनले भनिन्, ‘कहिलेकाँही पेट दुख्थ्यो तर सामान्य घरेलु औषधिले ठिक भइहाल्थ्यो।’ 

गर्भवती हुँदा आफ्नो पेट ठूलो भएको समेत भान नभएको उनको भनाइ छ।

तर शुक्रबार राती पेट र ढाड एक्कासी बढी दुख्न थालेपछि सासुले आफूलाई बयालपाटा अस्पताल पुर्याएको उनले बताइन्। बयाालपाटा अस्पताल पुग्दा उनलाई आकस्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीले के भयो भनेर सोधेपछि उनले एक्कासी पेट दुख्यो त्यसैले आएको जानकारी दिइन्।

तर स्वास्थ्यकर्मीले चेक गर्दा उनको पेटमा बच्चा रहेको थाह भयो। त्यसपछि उनलाई अन्तरंग विभागको प्रसूति कक्षमा राखियो। प्रसूति कक्षमा राखेको केही समयमै उनले छोरालाई जन्म दिएको अस्पतालका वरिष्ठ मेडिकल अधिकृत विप्लव श्रेष्ठले जानकारी दिए।

भारतमा बसोबास गर्ने करिश्माका परिवार जेठमा बाजुरा आफ्नो घर फर्केका थिए। भारतमै ३ बर्ष पहिले अप्रेसन मार्फत पहिलो सन्तानको पाएकी करिश्मालाई त्यस यता उनलाई आफू गर्भवती भएको थाह नै भएन्। करिश्माले घरमा पनि यसबारे आफूलाई केही जानकारी नदिएको उनकी सासु सेतु सुनारले बताइन्। 

बुहारी हरेक महिना महिनावारी भएको भन्थिन् हामीहरुले पनि त्यतिख्याल गरेनौं,’ करिश्माकी सासु सेतु सुनारले भनिन्, ‘आज बच्चा जन्मिँद ामात्रै थाह भयो उनि त गर्भवती रैछन्। यसअघि नातिनी थिइन्। अहलिे नाती जन्मियो।’

गएको जेठमा घर आएका श्रीमान् फेरि यहि असारमा भारत गएपछि शनिबार करिश्माकी सासुले नै उनलाई बयालपाटा अस्पताल पुर्‍याएकी थिइन्। अहिले करिश्मा र उनको बच्चाको स्वास्थ्यअवस्था सामान्य रहेको बयालपाटा अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया