काठमाडौंः सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ।
निगमका पूर्वकर्मचारी अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त भएका थिए। पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन। आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो।
अडियो सार्वजनिक भए लगत्तै कर्मचारीको एक समूहले आलेलाई बर्खास्त गर्न माग गर्दै आएको थियो। यद्यपी त्यसअघि नेपाल वायु सेवा निगमका कर्मचारीको अर्को समूहले गत वैशाखमा नै अधिकारीलाई हटाउन माग गर्दै आलेलाई ज्ञापन पत्र बुझाएका थियो।