टीकापुर :खोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्ने क्रममा गाउँपालिकाकै पदाधिकारी र कर्मचारीबाट मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै मृत्यु भइसकेका कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
त्यस्तै अख्तियारले मोहन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पूजा बुढा मगरमाथि पनि मुद्दा दायर गरेको छ ।
अख्तियार श्रोतका अनुसार अनुसन्धानका क्रममा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष तथा हाल कार्यबाहक अध्यक्ष बुढामगर, वडा नं.–१ का वडा अध्यक्ष नवीन पुनमगर, वडा नं.–२ का वडा अध्यक्ष देवीदत्त उपाध्याय वडा नं.–३ का वडा अध्यक्ष नन्दराम गिरी, वडा नं.–४ का वडा अध्यक्ष टेकबहादुर बोगटी, वडा नं.–५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं.–६ का वडा अध्यक्ष टीकाराम भण्डारी, वडा नं.–७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, गाउँ कार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराई समेतको मिलेमतोमा ५४ लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको अख्तियारले दाबी गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा भ्रष्टाचारको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनीहरू शुक्रवारकै मितिदेखि स्वतः निलम्बनमा परेका छन् ।
कार्यवाहक अध्यक्ष बुढामगर नेकपा माओवादी केन्द्र र वडा नं. ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी नेकपा एमालेबाट मोहन्याल गाउँपालिकामा अध्यक्षका आकाँक्षीको रूपमा देखिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार दायर गरेको रिटमा मोहन्याल गाउँपालिकाका स्व. अध्यक्ष रावलसहित १४ जना पदाधिकारी र कर्मचारीले न्यू बडिमालिका निर्माण सेवा कम्पनीसँग मिलेर ५४ लाख १८ हजार ५ शय ६८ रुपैयाँ सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाएको छ ।
सरकारी सम्पत्तिको हानी नोक्सानी पुर्याएका कारण उनीहरुबाट उक्त रकम असुल गरी सोही रकम बराबर नै बिगो भराउन माग दावीसमेत दिइएको छ ।
अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिका भएर बग्ने पत्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्री कर संकलनसम्बन्धी ठेक्कामा सरकारी राजश्व र भ्याटवापत बुझाउनुपर्ने उक्त रकम मिलेमतोमै ठेकेदार कम्पनीलाई मिनाहा गरी हानी नोक्सानी पुर्याएको उल्लेख छ।
अख्तियारका अनुसार उक्त ठेक्कामा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमै सम्झौता गरी भ्रष्टाचार भएको उल्लेख छ ।