टीकापुर: कैलालीमा नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा गठबन्धन गर्न अस्वीकार गरेको छ । जिल्लाका तीनवटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरिएको हो ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर पदीय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकुल असर पर्ने र पार्टी कमजोर हुने भन्दै गठबन्धन नगर्ने निर्णय भएको बताइएको छ ।
घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिकामा नेपाली काँग्रेसले गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका हुन् ।
यस्तै, घोडाघोडी नगरपालिकामासमेत नेपाली काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । घोडाघोडीमा काँग्रेस एक्लै बलियो भएकोले चुनावी गठबन्धन नगर्ने निर्णय भएको बताइएको छ ।
महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला सदस्यहरू, १२ वटै वडाका सभापति र नगर भरीका क्रियाशील सदस्यहरूसँग बृहत् छलफल गर्दा उनीहरू सबैको राय गठबन्धनको विपक्षमा देखिएको भन्दै गठबन्धन नगर्ने निर्णय गरेको नगर सभापति बम बहादुर सिंहले बताए ।
नेपाली काँग्रेस आत्मनिर्भर र उच्च मनोवलका साथ एक्लै प्रतिस्पर्धा गर्ने र अन्य कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्न नसकिने सर्वसम्मत निर्णयमा उल्लेख छ ।
यसअघि कैलारी गाउँपालिका गठबन्धन दलको संयुक्त बैठकले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ ।









