काठमाण्डौ पोल्यान्ड कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै पोल्यान्ड विश्वकपका लागि छनोट भएको हो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोल्यान्ड स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । पोल्यान्डको जितका लागि कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको पोल्यान्डले दोस्रो हाफमा दुई गोल गरेको हो ।
खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाए । त्यसपछि ७२औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै पोल्यान्डलाई २–० गोलको जितसहित विश्वकपमा स्थान पक्का गरे । अब प्ले अफको अर्को फाइनलमा वेल्सले स्कटल्यान्ड र युक्रेनबीचको विजेतासँग खेल्ने छ ।










