Advertisement
SKIP THIS
भारतमा ३८ जनालाई मृत्यु दण्डको फैसला

अहमदाबाद: भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ। गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो।

घटनामा दोषी दावी गरिएको ४९ जनालाई जेलमा राखिएकोमा ३८ जनालाई मात्रै मृत्युदण्डको फैसला सुनाइएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार श्रीङ्खलाबद्ध बम विस्फोटनको घटनामा संलग्न बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ।

घटनामा दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी नै छ। अहमदाबाद बमकाण्डमा ७८ जनाविरुद्ध मुद्दा चलाइएकोमा २८ जनालाई भने अदालतले सफाइ दिएको छ।

उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायतका क्षेत्रमा २१ बम विस्फोटन गराएका थिए। सो श्रीङ्खलाबद्ध विस्फोटनको घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने अरु २०० भन्दा बढी घाइते भएका थिए। त्यतिबेला विस्फोट नभएका थुप्रै बमहरू पनि फेला पारिएको प्रहरीले जनाएको थियो।

घटनाको जिम्मेवारी भारतले आतङ्कवादी घोषणा गरेको इस्लामिक समूह, हर्कत–उल– जिहाद–अल इस्लामीले लिएको थियो। पुनेस्थित एउटा जर्मन बेकरीमा १७ जनाको ज्यान जानेगरी गराइएको विस्फोटपश्चात् सन् २०१० पछि भारत सरकारले उक्त समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो।

तपाईको प्रतिक्रिया