Advertisement
SKIP THIS
एमसीसीबारे ओलीले यस्तो भने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश र परमादेशका बीचको वास्तविक लडाई सुरु भएको बताएका छन् ।सम्बोधनका क्रममा वर्तमान सरकार र गठबन्धनविरुद्ध चर्को आलोचना गरेका ओेलीले सत्ता गठबन्धले अमेरिकी सहायता परियोजना एमसीसीलाई भू–राजनीतिक द्वन्द्वको विषय बनाउने कोशिस गरेको गम्भिर आरोप लगाए ।

‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमसीसीबारे सत्ता गठबन्धनकै नेताहरुले दिएका विरोधाभासपूर्ण अभिब्यक्तिले विकास परियोजनालाई भू–राजनीतिक द्वन्द्वको विषय बनाउने कोशिस गरेको बताएका हुन् । ‘एमसीसका बारेमा दुईटा नेताले गोप्य वार्ता गर्छन् । पास गर्छौ भनेर किटानी गर्दै पास गर्ने कुरा लेख्छन् । यता जनतालाई पास गर्नै हुँदैन भनेर उचाल्छन्, भ्रमित पार्छन्’, ओलीले भने, ‘एउटा नेता पक्षमा बोल्छ अर्को विपक्षमा बोल्छ ।’

उनले न्युनतमा साझा कार्यक्रममा समेत एमसीसीबारे उल्लेख नगरेको भन्दै एमसीसीबारे आफुले गठबन्धनलाई प्रश्न गर्दा समेत जवाफ नदिएको बताए । ‘अत्यन्तै गैरजिम्मेवार र दुई जिब्रै चरित्र देखाएर देशलाई गम्भिर संकटमा पुर्याउँदैछन्’, ओलीको भनाइ छ । उनले प्रधानमन्त्रीले एमसीसीलाई पत्र लेख्ने कुरा प्रोटोकलको हिसाबले अनुचित रहेको पनि बताए । ‘कुनै एउटा मन्त्रालय अन्तर्गतको विषयलाई प्रधानमन्त्रीले चिठी लेख्ने कुरा अपमानजनक कुरा हो । अध्यक्षले लेख्ने ? रिपब्लिकन पार्टीकालाई लेखेको भए हुन्थ्यो’ ओलीको भनाइ छ । उनले सरकार र गठबन्धनकै कारण देश गम्भिर खेलबाड र गैरजिम्मेवारपनको शिकार भइरहेको भन्दै २४ लाख खोप हराउँदा समेत सरकारले त्यसलाई छानविन नगरेकोमा आपत्ति जनाए ।

उनले सरकारले एमसीसी संसदमा टेबल गरे सभामुखले रोक्न नमिल्ने पनि बताए । ‘सभामुखले रोक्न मिल्दैन, अनाधिकृत बलमिच्याई गरेका छन् सभामुखले । यो गठबन्धनको पदलोलुपता हो । पहिलेको सभामुखले पनि अनाधिकृत क्रियाकलाप गरेको हो अहिलेकाले पनि त्यही गरिरहेका छन् । त्यस्तो अनाधिकृत क्रियाकलाप गर्ने सभामुखकहाँ कोही मान्छे पुग्छन् भन्दा सरम लाग्छ । सरकार यसप्रति गम्भिर होस भन्न चाहन्छु’, ओलीको आग्रह छ ।

तपाईको प्रतिक्रिया