Advertisement
SKIP THIS
खेलाडीको कारबाही फिर्ता गर, क्यानका ६ बोर्ड सदस्य

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन्। बुधबार पत्रकार सम्मेलन गरेर सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने क्यानको निर्णय फिर्ता लिन माग गरेका हुन्। यसअघि उनीहरुले खेलाडीलाई कारबाही गर्ने गरी क्यानले गरेको निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए।

‘नेपालमा सञ्चालन भएको ट्राइ नेशन टि २० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलँडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं’ प्रेस विज्ञप्तिमा भनिएको छ। खेलाडीहरुले वर्गीकरणमा असहमति जनाएपछि उनीहरुसँग संवाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको क्यान सदस्यहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्।

वर्षौंसम्म राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई हचुवाको भरमा नियोजित तरिकाले कारबाही गर्दा आउँदा दिनमा हुने महत्वपूर्ण प्रतियोगितामा पर्ने असरका साथै नेपाली क्रिकेटको साख खस्कने अवस्था आउन सक्ने तर्फ जिम्मेवार नेतृत्वले सोचेको छ ? उनीहरुले प्रश्न गरेका छन्।

तपाईको प्रतिक्रिया