Advertisement
SKIP THIS
एक सयभन्दा बढी ज्यान मुद्दा लागेर कैद सजाय भोगेका बालकृष्ण ढुंगेल, नेकपा एमालेको महाधिवेशन प्रतिनिधि मनोनित

काठमाण्डौ:नेकपा एमालेले महाधिवेशन प्रतिनिधि मनोनित गरेका एक सयभन्दा बढी व्यक्तिमा ज्यान मुद्दा लागेर कैद सजाय भोगेका बालकृष्ण ढुंगेल पनि छन्।

पहिलो संविधानसभामा माओवादीबाट सभासद भएका ढुंगेललाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो। सर्वोच्चले त्यति बेला जिल्ला अदालतकै फैसला सदर गरेको हो।

जिल्ला अदालत ओखलढुंगाको फैसलाका आधारमा साढे सात वर्ष जेल बसेपछि ढुंगेलले पुनरावेदनबाट सफाइ पाएका थिए। सफाइ पाएर जेलमुक्त भएकै बेला उनी सभासद चुनिए।

त्यसैबीच उक्त मुद्दा सर्वोच्च आइपुगेको थियो। सर्वोच्चले जिल्ला अदालतको जन्मकैद सजाय सदर गरे पनि ढुंगेल पक्राउ परेका थिएनन्।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनलाई आममाफी दिन सिफारिस गरियो। त्यसविरूद्ध रिट परेपछि सर्वोच्चले आममाफीको निर्णय उल्ट्याइदियो। त्यसपछि बल्ल २०७४ कात्तिकमा बाँकी सजाय काट्न उनी पक्राउ परे। जन्मकैदमा २० वर्ष सजाय हुन्थ्यो।

यति हुँदा पनि उनले पूरा कैद अवधिभर जेल बस्नुपरेन। सुरूमा साढे सात वर्ष र पछि झन्डै छ महिना गरी चालीस प्रतिशत कैद भुक्तान गरेपछि उनलाई असल चालचलनका आधारमा रिहा गरियो।

केपी ओली सरकारले नै ढुंगेललाई कैद मिनाहाका लागि सिफारिस गरेको हो। राष्ट्रपतिले सिफारिस स्वीकृत गरेपछि उनी २०७५ जेठ १५ गते गणतन्त्र दिवसका दिन डिल्लीबजार कारागारबाट जेलमुक्त भएका थिए।

जेलबाट छुटेपछि गुमनाम रहँदै आएका ढुंगेल अहिले एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित भएका हुन्।

तपाईको प्रतिक्रिया