Advertisement
SKIP THIS
गुगलले किन्यो साढे २ खर्ब रुपैयाँ न्युयोर्कमा कार्यालय

एजन्सी:सर्च इन्जिन कम्पनी गुगलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको छ।

गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर (२ खर्ब ४७ अर्ब रुपैयाँ) खर्चेर म्यानहटनमा कार्यालयका लागि भवन किन्ने योजना सार्वजनिक गरेका हुन्।

अमेरिकी समाचार पत्र द न्युयोर्क टाइम्सले कोरोना महामारीपछि सुस्ताएको म्यानहटनको रियल स्टेट कारोबारमा गुगलको यो घोषणाले आशाको सञ्चार गरेको बताएको छ।

सन् २०१९ को अन्त्यदेखि सुरू भएको कोरोना महामारीका कारण अझै पनि धेरै कम्पनीहरूले सबै कर्मचारीहरूलाई कार्यालयमा नबोलाई वर्क फ्रम होममा राखेका छन्।

गुगलले पनि सबै कर्मचारीलाई साताको पाँचै दिन कार्यालयमा बोलाएको छैन। कम्तीमा सन् २०२२ को पहिलो त्रैमाससम्म गुगलका सबै कर्मचारी कार्यालयमा हाजिर हुने छैनन्। न्युयोर्क सहरमा गुगलका १२ हजार कर्मचारी छन्। थप दुई हजार नयाँ कर्मचारी राख्ने गुगलको योजना छ।

सिएफओ पोराटका अनुसार गुगलको नयाँ कार्यालय सन् २०२३ को मध्यतिरबाट सञ्चालनमा आउनेछ।   

महामारीका बेला झन् नाफा बढेका टेक्नोलोजी कम्पनीहरूले म्यानहटनमा घटेको रियल स्टेटको मूल्यको फाइदा उठाइरहेका छन्। अमेजन कम्पनीले गत वर्ष फिफ्थ एभेन्युमा ९७८ मिलियन डलर खर्चेर लर्ड एन्ड टेलर भवन किनेको थियो भने फेसबुकले फार्ले बिल्डिङ कार्यालय चलाउन भाडामा लिएको थियो।

तपाईको प्रतिक्रिया