Advertisement
SKIP THIS
नेपाली आकाशमा गुण एयरलाइन्स थपियो

काठमाडौं:कोरोना लहरपछि आइरहेको चाडपर्वलाई लक्षित गर्दै गुण एयरले नयाँ व्यवस्थापनसहित सेवा सुरु गरेको छ । नेपालमा हवाईमार्गका यात्रुहरु बढ्दै गएको परिवेशमा आन्तरिक उडानको आकाशमा सिम्रिक एयरलाइन्स नामबाट चलिरहेको वायुसेवा कम्पनीको स्वामित्व परिवर्तनपछि बनेको गुण एयरलाइन्सले नयाँ व्यवस्थापनसहित उडान शुरु गरेको हो ।

यति एयरलाइन्सका पाँच वटा जेट्स्ट्रीम जहाज खरीद गरी आफूसँग भएको थप २ समेत गरी ७ जहाजबाट सेवा दिने उद्देश्यसहित गुणले पहिलो दिन शुक्रबार पोखरा र भरतपुरमा पूरा क्षमतामा यात्रुलाई सेवा दिएको कम्पनीले जनाएको छ ।

अहिले काठमाडौंबाट सुगमका गन्तव्यमा यात्रु बोक्न बुद्ध, यति, श्री, सौर्य एयरलाइन्सले प्रतिस्पर्धा गरिरहेका छन् । यसमा अब गुण एयरलाइन्स समेत थपिएको छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार तथा बिक्री प्रमुख प्रज्वल थापाका अनुसार कम्पनीले छिट्टै सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगञ्ज, सुर्खेत र विराटनगरमा उडान विस्तार गर्नेछ । यसले यात्रुलाई नजिकिएको चाडबाडमा हवाई टिकट प्राप्तिमा विकल्प दिने छ ।

दशैं र तिहारका लागि यात्रुले अग्रिम टिकट बुकिङ अहिले पनि गर्न सक्छन् । यात्रुको चाप बढ्दै गएमा अतिरिक्त उडानको तयारीमा समेत वायुसेवा कम्पनी छन् । गुण एयरलाइन्स नेपाली हवाई यात्रु बीचमा भने परिचित नाम हो । २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका सञ्चालकहरुले नै साविकको सिम्रिकलाई गुणमा स्वामित्व परिवर्तन गरि सञ्चालनमा ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया