काठमाडौं:गुम्बाभित्र अनैतिक क्रियाकलाप गरेको आरोपमा रामेछापमा लामा गुरु पक्राउ परेका छन्। जिल्लाको उमाकुण्ड गाउँपालिका २ बाम्तीस्थित प्रशिद्ध ङग्युर पल्युल छेवाङ छ्योइलिङ गुम्बाका प्रमुख लामा गुरु पक्राउ परेका हुन्।
६२ वर्षीय प्रमुख लामा सर्की शेर्पा स्थानीय २४ वर्षीया युवतीसँग गुम्बाभित्र आपत्तिजनक अवस्थामा भेटेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले दुवै जनालाई मंगलबार अपरान्ह पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।
सांस्कृतिक मूल्य मान्यता, सामाजिक सदाचार र नैतिकताविपरीत क्रियाकलाप गरेको अभियोगमा मुलुकी संहिता २०७४ को दफा १२३ (१) बमोजिम सार्वजनिक स्थानमा यौनक्रिया गर्न नहुने कसुरमा अभियोग लगाइएको उनले बताए।









