कञ्चनपुर:कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज (आईतवार) ३ वर्ष भयो।
निर्मला हत्या प्रकरणले राष्ट्रिय, अन्तर्राष्ट्रिय चर्चा पायो। अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारको चार्को आलोचना भयो। सडकदेखि सदनसम्म आवाज उठ्यो। तर, अझै हत्यारालाई कारबाही हुनु त कहाँ हो कहाँ ? हत्याराको पहिचानसम्म हुन सकेको छैन।
२०७५ साउन १० गते बालिका निर्मला पन्त बलात्कारपछि हत्या गरि उखुबारीमा शव फेला परेको थियो बालिका पन्त हराएको ठिक ३ बर्ष पुरा भएपनि अझैसम्म सरकारले वास्तविक हत्यारा पता लगाउन सकेको छैन।
हत्यारा पत्ता लगाउन कञ्चनपुरका दर्जनौं प्रहरी प्रमुख फेरिए तर वास्तविक हत्यारा पत्ता लागेको छैन। सरकारले घटना छानबिनका लागि उच्चस्तरिय छानबिन टोलीदेखि विभिन्न अनुसन्धानका टोली गठन गरेर पठाउँदा समेत उपलब्धी भने शुन्य पाईयो।
निर्मलाको न्यायिक आन्दोलनमा सन्नी खुनाले ज्यान गुमाउनेदेखि अर्जुन भण्डाराले खुट्टा गुमाए, दर्जनौँ मानिस घाईते भएका छन। बरु राज्यको करोडौँ रकम खर्च भईसकेको छ,तर उपलब्ध समेत देखिएको छैन। सुदूरपश्चिममा डिआईजी, कञ्चनपुरमा ६ प्रहरी प्रमुख र नेपाल प्रहरीको तीन प्रमुख फेरिदा समेत निर्मला हत्याकाण्ड गर्भमै रहेको छ।
शुरुमै प्रहरीले निर्मला हत्याकाण्डमा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका १९ का दिलिपसिह विष्टलाई सार्वजनिक गरेको थियो।प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिप विष्टलाई सार्वजनिक गरेको भन्दै स्थानीय सहित केही अधिकारकर्मीले आन्दोलन गरेका थिए।
आन्दोलनका क्रममा स्थानीय युवक सन्नी खुनाले ज्यानै गुमाए।अर्जुन भण्डाराले खुट्टा गुमाउनुका साथै दर्जनौँ मानिस घाईते भए। होमवर्क गर्छु भन्दै बम दिदि बहिनी(रोशनी, बबिता) को घर गएकी निर्मला भोलीपल्ट निम्बुखेडा मृत अवस्थामा उखु बारीमा भेटिएकी थिईन।
उनको बलात्कार पछि हत्या भएको घटना स्थलले देखाएको थियो। घटनामा संलग्न अशंकामा केही व्यक्तिको डिएनए टेष्ट गरिदा समेत मुख्य हत्यारा पहिचान भएन।
शुरुमै कञ्चनपुर प्रहरी र सिआईबीको नेतृत्वले दिलिप विष्ट नै मुख्य हत्यारा भएको भन्दै पक्राउ गरि सार्वजनिक गरिएको थियो। स्थानीयले आन्दोलन गरेपछि उनलाई सरकारी वकिल कार्यालयको रहोबरमा छाडियो। निर्मला हत्याकाण्ड बारे अहिले पनि राजनीतिक तथा समाजिक वृतमा चर्चा चलिरहेको छ।









